सन्तोष दहित
दाङ, असोज २५ गते । घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी अघिपछि फुर्सिदलमा बस्नुहुन्छ । तर चाडपर्वको समयमा भने उहाँलाई एकछिन पनि फुर्सद हुँदैन । दसैँ सकिएसँगै तिहार नजिकिँदै गर्दा उहाँलाई अहिले मादल मर्मत गर्ने र नयाँ मादल बनाउनेमा भ्याइनभ्याई छ ।
“दसैँ–तिहार हाम्रो सिजन हो,” चित्रे बादी मुस्कुराउँदै भन्नुभयो “यो बेला फुर्सदमा बस्यौं भने वर्षदिनमा के खाने, के लाउने ?” थारू समुदायको दसैँमा नाचिने सख्या–पैयाँ नाचको धुन सजाउने मुख्य साधन मादल भएकाले त्यसको माग अत्यधिक हुन्छ । दसैँको समयभर थारू गाउँमा बज्ने मादल बनाउने काममा व्यस्त रहेर अब उहाँ तिहारका लागि नयाँ मादल र पुराना मादल मर्मतमा जुट्नुभएको छ ।
“दसैँ सकियो, अब तिहारको भैलो बजाउने मादल बनाउने काम सुरु भइसकेको छ,’’ उहाँले भन्नुभयो, ‘‘म अहिले बिहानैदेखि बेलुकीसम्म यहि काममा व्यस्त छु, धेरै ठाउँबाट मादलको माग भएको छ, पुर्याउन सक्छुकी नाई भन्ने चिन्ता छ ।’’
चित्रे बादीका अनुसार सिजनमा दैनिक चारदेखि पाँचवटा मादल बिक्री हुन्छन् । मादल बनाउने मात्र होइन, त्यसलाई सजाउने काम अझ बढी समय लाग्ने उहाँको भनाइ छ । नयाँ मादलको आकार अनुसार प्रति मादल एक हजारदेखि दुई हजार रुपियाँसम्म लिने उहाँले जानकारी दिनुभयो । पुराना मादल साजसज्जा गर्दा भने मर्मतको अवस्था हेरेर मूल्य निर्धारण गर्ने गरेको उहाँले बताउनुभयो ।