• २५ असोज २०८२, शनिबार

मतदाता नामावलीमा नाम दर्ता गराउँदै युवा

blog

जिल्ला निर्वाचन कार्यालय खोटाङमा मतदाता नामावली दर्ता गराइँदै ।तस्बिर : राजकुमार भट्टराई

खोटाङ समाचारदाता

खोटाङ, असोज २५ गते । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि खुलाएसँगै जिल्ला निर्वाचन कार्यालय खोटाङमा चहलपहल बढेको छ । फागुनमा घोषणा भएको निर्वाचनका लागि युवाले मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ । जिल्ला निर्वाचन कार्यालय खोटाङमा हरेक दिन २० देखि २५ जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको कार्यालय प्रमुख रविन मगरले जानकारी दिनुभयो । कार्यालयमा उत्साहजनक भिड नभए पनि हरेक दिन विशेष गरी युवा नाम गराउन आइरहेको उहाँको भनाइ छ ।

निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगको अनलाइनमा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने बताइएको छ । 

असोज १० गतेबाट सुरु भएको मतदाता नामावलीमा खोटाङमा हालसम्म १०२ जनाले नाम दर्ता गराएको कार्यालय प्रमुख मगरले बताउनुभयो । 

कार्यालयको तथ्याङ्क अनुसार खोटाङमा कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्ने मतदाताको सङ्ख्या एक लाख ४४ हजार ४२९ रहेको छ । हाल सङ्कलन भइरहेको मतदाता नामावलीमा नाम दर्ता कात्तिक मसान्तसम्म सञ्चालन हुने छ ।