म्याग्दी समाचारदाता
म्याग्दी, असोज २५ गते । जेनजी आन्दोलनको समयमा जिल्ला कारागार तोडफोड गरी कैदीबन्दी भगाउने १८ जनामध्ये सात जनालाई जिल्ला अदालत म्याग्दीले जनही एक/एक लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ । गएको भदौ २५ गते बिहान कारागार तोडफोडमा संलग्न १८ मध्ये सात जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तारपछि प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले कारागार ऐन अनुसारको कसुरमा २१ गते
मङ्गलबार जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको सहायक जिल्ला न्यायाधिवक्ता अरुण सापकोटाले जानकारी दिनुभयो ।
कारागार ऐनको दफा ४९ (२) मा कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने छ भन्ने उल्लेख छ । कारागार ऐनबमोजिम दर्ता भएको अभियोजनमाथि भएको बुधबार अबेरसम्म भएको थुनछेक बहस भएको थियो । बहसपछि जिल्ला अदालत म्याग्दीका न्यायाधिश सूर्यबहादुर थापाको इजालसले जनही एक/एक लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिनुभयो ।