नौरत नेपाली
सिँजा (जुम्ला), असोज २५ गते । जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा अहिलेसम्म इन्टरनेट सेवा पुग्न सकेको छैन । इन्टरनेट सेवा नहुँदा स्थानीय समुदाय, विद्यालय तथा वडा कार्यालयले दैनिक प्रशासनिक र शैक्षिक काम गर्न समस्या भइरहेको छ । स्थानीयले फोन तथा इन्टरनेट दुवै सेवामा समस्या हुने गरेको बताएका छन् ।
विद्यालयले अनलाइन फाराम भर्ने, शैक्षिक विवरण पठाउने जस्ता काममा कठिनाइ झेल्नु परेको छ । त्यस्तै वडा कार्यालयले पनि विभिन्न पत्राचार र अनलाइन प्रणालीमार्फत गरिने सरकारी काम गर्न नपाउँदा सेवा प्रवाह प्रभावित भएको बताएका छन् । शान्ति जनआधारभूत विद्यालयका प्रधानाध्यापक प्रमानबहादुर रोकायाले गाउँमा इन्टरनेट त के मोबाइलमा नेटवर्कको सिग्नलसमेत स्थिर नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य फोन गर्न पनि निकै समस्या हुन्छ । कहिलेकाहीँ फोन लागे पनि आवाज काटिने वा नबुझिने हुन्छ ।” प्रधानाध्यापक रोकायाले नेताले इन्टरनेट सेवा ल्याउने वाचा धेरै गरे पनि अहिलेसम्म त्यो केवल वाचामै सीमित रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालयका अनलाइन कार्यव्रmम र शैक्षिक रिपोर्टिङ ठप्प अवस्थामा छन् ।
स्थानीयले पनि सञ्चार सेवाको अभावमा सूचना आदानप्रदान र आपत्कालीन सम्पर्कमा कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै चाँडै इन्टरनेट र स्थिर मोबाइल सेवा विस्तार गर्न माग गरेका छन् । सिँजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले इन्टरनेट खोज्दै जनताको सेवा दिन नराकोट बजार र जुम्ला बजार धाउनुपर्ने अवस्था रहेको सुनाउनुभयो । इन्टरनेट नहुँदा नागरिकता, सामाजिक सुरक्षा भत्ता, जन्मदर्तालगायतका अनलाइन प्रणालीबाट हुने काममा ढिलो भइरहेको छ ।