• २५ असोज २०८२, शनिबार

असी प्रतिशत किशोरीमा रक्तअल्पता

blog

फाइल तस्बिर

गुलरिया समाचारदाता 

गुलरिया (बर्दिया), असोज २५ गते । बर्दियामा विद्यालयमा अध्ययन गर्ने ८० प्रतिशत किशोरीमा रक्तअल्पता देखा परेको छ । स्वास्थ्य कार्यालय बर्दियाले आठ वटा नगरपालिकाका १६ वटा विद्यालयमा गएर गरेको परीक्षणमा ८० प्रतिशत किशोरीमा रक्तअल्पता फेला परेको हो । यो लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी हो । 

जिल्लाभरिका १६ वटा विद्यालयका तीन हजार ३३७ किशोरीमा रगत परीक्षण गरिएको थियो । तीमध्ये दुई हजार ६९३ जनामा रक्तअल्पता देखिएको थियो भने ६४४ जनामा रक्तअल्पता देखिएको थिएन । रक्तअल्पता देखिएका दुई हजार ६९३ जनामध्ये सामान्य रक्तअल्पता एक हजार २२५ जना र मध्यम रक्तअल्पता एक हजार ४०७ जनामा देखिएको थियो । कडा खालको रक्तअल्पता ६१ जनामा देखिएको थियो । कडा रक्तअल्पता देखिएका किशोरीलाई औषधी दिई थप जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको थियो । स्वास्थ्य कार्यालय बर्दियाका कुपोषण फोकल पर्सन मानबहादुर नेपालीले सामान्य र मध्यम खालको रक्तअल्पता देखिएकालाई आइरन चक्की दिई पोसिलो खानेकुरा खान सुझाव दिइएको बताउनुभयो । कडा खालको रक्तअल्पता देखिएका ६१ जनामध्ये ४० जना किशोरी थारू समुदायका थिए । उनीहरूको सिकलसेल जाँच गर्दा दुई जनामा रोग फेला परेको थियो भने ११ जना सिकलसेलवाहक देखा परेका थिए । 

सरकारले किशोरीमा रक्तअल्पता नहोस् भनेर हरेक साता आइरन चक्की खुवाउने कार्यक्रम ल्याएको छ । आइरन चक्की खुवाउँदासमेत किशोरीमा रक्तअल्पता देखिएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुहेलवाकी शिक्षिका शिवु उपाध्यायले कतिपय किशोरीमा रक्तअल्पता भएकै कारण चक्कर आउने, आलस्य हुने र बिरामी जस्तो देखिने समस्या आएको बताउनुभयो । खानपानमा कमी हुँदा किशोरीमा रक्तअल्पता देखिने गरेको छ । घरमा बनाएका र प्राकृतिक खानामा भन्दा किशोरकिशोरीमा बजारिया तथा जङ्क फुडप्रति बढी आकर्षण भएकाले उनीहरूमा पोषणको कमी हुने र रक्तअल्पताको समस्या देखिने गरेको चिकित्सक बताउँछन् । 

बर्दिया अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृष्ण खनालका अनुसार बर्दिया जिल्लामा अधिकांशमा आइरनको कमी भएका कारण रक्तअल्पता भएको छ । उहाँले खानपानको तरिका नमिल्दा, रगत बढ्ने खानेकुरा नखाँदा, जङ्क फुड र क्याफिनयु्क्त खानेकुरा बढी खाँदा किशोरीमा रक्तअल्पता हुने गरेको बताउनुभयो । स्त्रीरोग विशेषज्ञ डा. खनालले हालसम्मको अध्ययन अनुसार वंशाणुगतलगायतका कारण सिकलसेल वा अरू रोग नभए पनि थारू समुदायका किशोरीमा बढी रक्तअल्पता देखिने गरेको छ ।