• २५ असोज २०८२, शनिबार

अदालत बचाउने प्रहरी सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदै सहायक प्रहरी हवलदार सङ्गीता अधिकारी । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, असोज २५ गते । दाङ जिल्ला अदालतले सहायक प्रहरी हवलदार सङ्गीता अधिकारीलाई नगदसहित सम्मान गरेको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङको भवनसँगै महत्वपूर्ण कागजातमा हुने क्षति न्यूनीकरणका लागि भूमिका खेल्ने सहायक प्रहरी हवलदार अधिकारीलाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरेको हो । बिहीबार जिल्ला अदालतमा आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठलगायतले टीका, मालासँगै सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

सम्मान कार्यक्रममा बोल्दै दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले जेनजी आन्दोलनका क्रममा आगजनी गर्न आएका युवालाई सम्झाइबुझाइ गरेर सहायक प्रहरी हवलदार अधिकारीले अदालतमा हुन सक्ने ठुलो क्षतिलाई न्यूनीकरण गर्न सफल भएको बताउनुभयो । उहाँले तोडफोड र आगजनीका लागि आएको भिडलाई एक्लो प्रयासले रोक्न सक्ने अवस्था नरहे पनि भिड नियन्त्रणका लागि गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अप्रत्याशित रूपमा भएको आन्दोलनका क्रममा जिल्ला अदालतको भवन बचाउन  गरेको काम प्रशंसायोग्य भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले अदालतको सुरक्षामा खटिनुभएकी महिला प्रहरी सङ्गीता अधिकारीले आन्दोलनकारीको भिडलाई सम्झाउन देखाउनुभएको साहसले सबै सुरक्षाकर्मीको  मनोबललाई उच्च बनाएको बताउनुभयो । आन्दोलनका क्रममा अदालतको भवन तथा कागजातलाई जोगाउन नसके पनि कम क्षति गर्न महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते घोराहीमा रहेको दाङ जिल्ला अदालतमा तोडफोडसँगै तीन वटा कोठामा आगजनी भएको थियो । तोडफोड र आगजनी भएको जिल्ला अदालतले अझै पूर्ण रूपमा सेवा प्रवाह गर्न सकेको छैन ।