• ११ असार २०८१, मङ्गलबार

साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन चिनी खरिद गर्दै

blog

काठमाडौं, भदौ १० गते । चाडपर्व नजिकिएसँगै अहिले पनि सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग चिनीको मौज्दात सकिएपछि १० हजार टन चिनी खरिद प्रक्रिया अघि बढाएको छ । दशैंको मुखमा चिनीको भाउ बढ्ने डर उपभोक्तामा भए पनि कर्पोरेशनले खरिद गर्ने भएपछि उपभोक्तामा राहत हुने देखिएको छ ।    

लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार दुई महिनाअघि नै चिनीको मौज्दात सकिएको हो । स्टक चिनी सकिएको र खरिद गर्न प्रक्रिया पनि बीचमै रोकिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘स्टक चिनी दुई महिनाअघि नै सकिएको हो । अहिले चिनी स्टक छैन । चिनी खरिद गरेर बिक्री गर्नका लागि अर्थमन्त्रालयमा प्रस्ताव रोकिएकाले समस्या भएको छ ।’

स्टक चिनी दुई महिनाअघि नै सकिएको हो । अहिले चिनी स्टक छैन । चिनी खरिद गरेर बिक्री गर्नका लागि अर्थमन्त्रालयमा प्रस्ताव रोकिएकाले समस्या भएको छ ।

चिनी सकिँदा दशै, तिहारजस्ता पर्वमा चिनीको मूल्य केही बढ्ने देखिएको उहाँले स्वीकार्नुभयो ।  राजभण्डारीका अनुसार अहिले मौज्दात सकिएको र खरिद प्रक्रिया पनि सुरु नभएकाले कहिलेसम्म चिनी नेपाल ल्याउन सकिन्छ भन्ने यकिन भएको छैन । ‘अहिले चिनीको भण्डारण सकिएको छ । खरिद प्रक्रिया अन्यौल रहेकाले कहिलेसम्म नेपालमा चिनी आउने यकिन छैन’ उहाँले भन्नुभयो ।

आन्तरिक उत्पादनको चिनी खरिद गर्न खोजिए पनि व्यापारीले बिक्री गर्न नचाहेका कारण अन्तर्राष्ट्रिय टेण्डरबाटै खरिद गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । बजारमा चिनीको अभाव हुँदा व्यापारीले कालोबजारी गर्न सक्ने हुँदा सरकारले बेलैमा चिनीको खरिद गर्नुपर्ने देखिन्छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार १० हजार टन चिनी खरिदका लागि कम्पनीले प्रस्ताव गरे पनि अहिलेसम्म स्वीकृत नभएको उहाँले बताउनुभयो । 

‘कम्पनीले १० हजार टन चिनी खरिदका लागि प्रस्ताव पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थमन्त्रालयमा पठाएको प्रस्तावको अहिलेसम्म टुङ्गो लागेको छैन’ उहाँले भन्नुभयो ।

कम्पनीले १० हजार टन चिनी खरिदका लागि प्रस्ताव पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थमन्त्रालयमा पठाएको प्रस्तावको अहिलेसम्म टुङ्गो लागेको छैन ।

उहाँका अनुसार चाडपर्वका लागि खरिद गर्नुपर्ने चिनीको प्रक्रिया केही ढिलाई हुनसक्ने भएकाले चाँडै नै प्रस्ताव पारित हुने आशा रहेको उहाँले सुनाउनुभयो । सुवेदीले भन्नुभयो, ‘चाडपर्व नजिकी सके, बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने अबस्था आउनसक्छ । यसकारण चाँडै उक्त प्रस्ताव पारित भएमा खरिद प्रक्रियामा जान सहज हुने थियो ।’ 

खरिद गर्न पनि धरै प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले अबको केही दिनमै प्रस्ताव स्वीकृत हुनुपर्ने उहाँको भनाइ छ । 

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । अहिले बजारमा चिनीको फुटकर मूल्य पूतिकेजी ११० रुपिँया रहेको छ । चाडपर्वमा खाद्य कम्पनी र साल्ट ट्रेडिङ् कर्पोरेसनले मूल्य समायोजन गर्न भन्सार छुटमा ल्याएर चिनी बिक्री गर्ने गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर चिनी ल्याउने तयारीमा खाद्य कम्पनी लागेको छ ।

खसीबोका तथा च्याङ्ग्रा खरिद गरिने 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहारका लागि आवश्यक पर्ने खसी बोका तथा च्याङ्ग्रा पनि खरिद गर्नेभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने प्रस्ताव सञ्चालक समितिमा पेश गर्न लागेको कम्पनीका सूचना अधिकारी सर्मिला सुवेदीले बताउनुभयो । हरेक वर्ष दशैंमा कम्पनीले खसीबोका र च्याङग्रा खरीद गरेर सुपथ मूल्यमा उपभोक्तालाई बेच्दै आएको उहाँको भनाइ छ ।

गत आर्थिक वर्षमा कम्पनीले तीन हजार खसिबोका र च्याङग्रा खरिद गर्ने भनेको थियो। तर च्याङग्राको खरीद मूल्य धेरै भएकाले कम्पनीले १ हजार ९५९ खसीबोका मात्रै ल्याएको सुवेदीले बताउनुभयो ।

कम्पनीले यस वर्ष दुई हजार खसीबोका र एक हजार च्याङग्रा खरीद गर्ने तयारी गरेको उहाँले बताउनुभयो । खरीदका लागि कम्पनीले छिट्टै बजेट छुट्याउने उहाँको भनाइ छ । उहाँका अनुसार यो बर्ष तीन हजारको हाराहारीमा खसी, बोका, च्याङ्ग्रा ल्याउने तयारी छ । त्यसका लागि केही दिनमै बजेट छुट्याउछौँ, सुवेदीले भन्नुभयो । 

कम्पनीले बजारमा खसी, बोका, च्याङ्ग्राको मूल्य समायोजन गर्न खरिद गरेर बिक्री गर्नेगरेको छ । गत वर्ष तीन करोड ७१ लाख रुपियाँ छुट्याएको थियो । गत आर्थिक वर्षमा कम्पनीले तीन हजार खसिबोका र च्याङग्रा खरिद गर्ने भनेको थियो। तर च्याङग्राको खरीद मूल्य धेरै भएकाले कम्पनीले १ हजार ९५९ खसीबोका मात्रै ल्याएको सुवेदीले बताउनुभयो । गत साल कम्पनीले खसी बोका प्रतिकेजी ६५० रुपियाँमा बिक्रीगरेको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।