• १८ मङ्सिर २०८२, बिहिबार

कोटेश्वर चोक सुधार योजना : बत्तिस अर्ब ऋण लिने सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । सङ्घीय राजधानी काठमाडौँको एउटा चोक सुधार गर्न सरकारले करिब ३२ अर्ब रुपियाँ ऋण लिने भएको छ । राजधानीको कोटेश्वर चोक सुधार आयोजनाका लागि सरकारले ३१ अर्ब ७६ करोड रुपियाँ वैदेशिक ऋण लिने भएको हो । चोक सुधारका लागि नेपाललाई जापान सरकारले ऋण उपलब्ध गराउने भएको हो । 

ऋण उपलब्ध गराउने सम्बन्धमा दुई देशका सरकारी प्रतिनिधिबिच बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा सम्झौता भएको छ । सम्झौता अनुसार जापान सरकारले नेपाललाई उल्लेखित नेपाली रुपियाँ बराबर हुन आउने ३४ अर्ब ५९ अर्ब जापानी येन ऋण उपलब्ध गराउने छ । जापान सहयोग नियोग (जाइका) मार्फत प्राप्त हुने उक्त ऋणको भुक्तानी अवधि ३० वर्षको हुने छ । ऋणको ब्याजदर भने ०.२ प्रतिशत मात्रै रहने सम्झौतामा उल्लेख छ । 

आयोजना अन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिने छ । यो निर्माणपछि काठमाडौँ, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधनको आवागमन सहज हुने तथा ट्राफिक जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले कार्यान्वयन गर्ने छ । 

ऋण सम्झौतासम्बन्धी औपचारिक कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले काठमाडौँ उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउन यो आयोजना अघि बढाइएको बताउनुभयो । यस आयोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने उहाँको भनाइ थियो । 

नेपालका लागि जापानका राजदूत मायदा तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने बताउनुभयो । 

ऋण सहायतासँग सम्बन्धित ‘एक्सचेन्ज अफ नोट्स’ मा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र राजदूत तोरुले हस्ताक्षर गर्नुभएको छ । ऋण सम्झौतामा भने अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गर्नुभयो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपियाँ पुगेको छ, जुन नेपालको कुल अर्थतन्त्रको ४४ प्रतिशत बराबर हुन आउँछ । कुल ऋणमध्ये १४ खर्ब ५३ अर्ब रुपियाँ वैदेशिक ऋणको दायित्व छ ।