• १८ मङ्सिर २०८२, बिहिबार

वर्षाले तरकारीमा डेढ अर्बको क्षति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । बेमौसमी वर्षाका कारण दुई महिनामा डेढ अर्ब रुपियाँ बराबरको तरकारी बालीमा क्षति भएको छ । गत असोज र कात्तिक महिनामा आएको बैमौसमी वर्षाका कारण एक अर्ब ४९ करोड रुपियाँ बराबरको २२ हजार मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण तीन प्रदेशमा गरी एक हजार ९४७ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बालीमा क्षति पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै असोज १७ देखि १९ सम्म आएको बैमौसमी वर्षाले तरकारी बालीमा क्षति पु¥याएको छ । 

यस वर्षाका कारणले गर्दा एक अर्ब २५ करोड ७१ लाख रुपियाँ बराबरको एक हजार ३६१ हेक्टर क्षेत्रफलमा लगाइएको १६ हजार १२० मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको छ । सबैभन्दा धेरै कोशी, मधेश र गण्डकी प्रदेशमा तरकारी बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । 

यस्तै कात्तिक १५ देखि १७ सम्म आएको बैमौसमी वर्षाका कारण ५८६ हेक्टर क्षेत्रफलमा लगाएको २२ करोड २३ लाख रुपियाँ बराबरको छ हजार ८३६ मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ  ।  

सबैभन्दा धेरै कोशी र मधेश प्रदेशमा क्षति पुगेको छ । कोशी प्रदेशका सुनसरी र मधेश प्रदेशका १० वटै जिल्लामा लगाएको तरकारी बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । वर्षाले तरकारी बालीमा क्षति पु¥याउँदा बजारमा अभाव भई अस्वाभाविक रूपमा मूल्य बढेको छ । वर्षाले तरकारी उत्पादनमा क्षति र माग अनुसार आपूर्ति नहुँदा हरियोका तरकारीको मूल्य तेब्बरसम्मले बढेको छ । 

यस कारण तरकारीको सिजनको बेला पनि मूल्य बढ्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । तिहारदेखि नै बजारमा बढ्दै गएको हरियो तरकारीको मूल्य अझै घट्न सकेको छैन । हरियो सागदेखि अधिकांश तरकारीको मूल्य बढेको छ । 

खुद्रा व्यवसायीका अनुसार हरियो तरकारीको खुद्रा मूल्य प्रतिकेजी एक सय रुपियाँदेखि १५० रुपियाँसम्म रहेको छ । काउली, भिन्डी प्रतिकेजी १५० रुपियाँ, गोलभेँडा प्रतिकेजी १४०, सिमी प्रतिकेजी १५० रुपियाँ रहेको छ । आलु प्रतिकेजी ८० रुपियाँ, भन्टा प्रतिकेजी एक सय, हरियो फर्सी प्रतिकेजी ११० र हरियो साग प्रतिमुठा ५० रुपियाँ रहेको छ । 

यस्तै असोज दोस्रो साता आएको बैमौसमी वर्षाका कारण १९४ हेक्टर क्षेत्रफलमा लगाएको ५६ करोड ८८ लाख रुपियाँ बराबरको दुई हजार ९९९ मेट्रिक टन फलफूलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । फलफूलमा भने धेरै नोक्सान नभएको मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।