ज्ञानु पंगेनी
मध्यविन्दु, मङ्सिर १७ गते । नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाइसी) फर्म भर्नेहरू भिड बढेको छ ।
आगामी दिनमा विद्युतसम्बन्धी सबै सूचनाहरू अनलाइनमार्फत प्रदान गर्ने कार्यको थालनी गर्न नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै ग्राहकलाई (केवाइसी) फर्म भर्न भनेको छ ।
फर्म भर्नका लागि सुरुका दिनहरूमा फाटफुट रुपमा ग्राहक आएका थिए । पछिल्लो केही दिनयता ग्राहकको भिड बढेको छ । अहिले दैनिक रुपमा ६ सय हाराहारी ग्राहक फर्म भर्न आउने गरेको कार्यालयका सिनियर मिटर रिडर दुर्गादत्त पौडेलले जानकारी दिनुभयो ।
अहिलेको समय प्राविधिको समय भएको हुँदा विद्युत कार्यालयले दिने सेवा पनि अनलाइनकै माध्यमबाट प्रवाह गर्ने उद्देश्यसाथ केवाइसी फर्म भर्ने काम थालिएको पौडेलले बताउनुभयो ।
कावासोती वितरण केन्द्र अन्तर्गत ८८ हजार ग्राहक रहेका छन् । सबैलाई एकै पटक फर्म भर्न सम्भव नहुने भएको हुँदा मिटर रिडिङ गर्न छुट्याइएको क्षेत्र अनुसार फार्म भर्ने काम गरिएको पौडलले बताउनुभयो । ‘कार्यालयबाट गएका मिटर रिडरमार्फत ग्राहकलाई फर्म वितरण गरिएको छ । मङ्गलबारसम्म ८ हजार ३०७ जना ग्राहकले फर्र्म भरिसकेको पौडेलले बताउनुभयो ।
केवाइसी फर्ममा ग्राहकको तीनपुस्ते विवरण, फोन, जिमेल अकाउन्ट सबै भर्नुपर्ने हुन्छ । सबै ग्राहकको अनलाइन इन्ट्री भएपछि ग्राहकलाई एसएमएस मार्फत सूचनाहरू पठाइने छ । फर्म भर्नका लागि कुनै पनि शुल्क लाग्दैन । चैत मसान्तसम्मका लागि फर्म भर्ने समय तोकिएको छ । काम सम्पन्न नभए समय थप हुने पौडेलले भन्नुभयो ।