दाङ समाचारदाता
दाङ, मङ्सिर १८ गते । दाङ देउखुरीका किसान गगनबहादुर कुमालले प्याजको बेर्ना बेचेर बिक्रीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । लमही नगरपालिका–४, सेमरहवाका गगनले विगत १२ वर्षदेखि प्याजको बेर्नाको व्यवसाय गर्दै आउनुभएको हो । उहाँले सिजनका महिनामा मासिक एक लाख रुपियाँसम्म आम्दानी हुने बताउनुभयो ।
“प्याजको मुख्य सिजन मङ्सिर, पुस र माघ महिना हो,” उहाँले भन्नुभयो, “यो समयमा बजारमा प्याजको बेर्नाको माग अत्यधिक हुने भएकाले बिक्री राम्रो हुने गरेको छ ।”
“सबैभन्दा बढी मङ्सिर र पुसमा बेर्ना बिक्री हुन्छ,” गगनले भन्नुभयो, “बिहान सबेरै उठेर बोरामा प्याजको बेर्ना लिएर गाडी चढ्छु, घोराही पुगेर दिनभर बेच्छु अनि बेलुकी घर फर्किन्छु ।”
उहाँले बेर्नाको मूल्य मुठी अनुसार तोक्ने गरेको बताउनुभयो । “एक मुठीको मूल्य सय रुपियाँदेखि माथि पर्छ,” उहाँले भन्नुभयो, “बजारको माग र बेर्नाको गुणस्तर अनुसार मूल्य घटबढ हुन्छ ।”
गगनले प्याजको बेर्नासँगै अन्य तरकारी खेती पनि गर्दै आउनुभएको छ । तरकारी खेती अन्य बालीभन्दा राम्रो र छोटो समयमा आम्दानी हुने भएकाले पछिल्ला वर्षमा उहाँले तरकारी उत्पादनमा धेरै समय खर्च गर्दै आउनुभएको छ । “सिजन अनुसारका तरकारी लगाउँछु, प्याजको बेर्ना मेरो मुख्य आम्दानीको स्रोत बनेको छ,” उहाँले भन्नुभयो, “अरू तरकारी खेतीबाट पनि राम्रै आउँछ तर दुःख गर्नु पर्छ ।”
गगनको सफलताबाट प्रभावित भएको सोही गाउँका गोविन्द कुमालले पनि यस वर्षदेखि प्याजको बेर्ना बेच्न थाल्नुभएको छ । “गगन दाइको राम्रो आम्दानी देखेर म पनि यो काममा लागेको छु,” गोविन्दले भन्नुभयो, “सुरुवात राम्रो छ, उहाँकै मार्गदर्शनमा काम गर्दै छु ।”
त्यसै गरी सोही गाउँका श्यामबहादुर कुमाल र शङ्कर चौधरी पनि प्रत्येक बिहान देउखुरीबाट घोराही पुगेर प्याजको बेर्ना बिक्री गर्दै आउनुभएको छ । यी किसान बिहान सबेरै प्याजका बोरा बोकेर बजार पुग्छन् र दिनभर बिक्री गरेर बेलुकी घर फर्कन्छन् ।
गगन र उहाँका सहकर्मीहरूको यस्तो मेहनतले देउखुरीका अन्य किसान पनि कृषिमा आत्मनिर्भर बन्न प्रेरित भएका छन् । स्थानीयस्तरमा उत्पादन भएको प्याजको बेर्ना अहिले घोराहीका तरकारी बजारमा निकै लोकप्रिय बन्दै गएको छ ।