गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १८ गते । प्रेस काउन्सिल नेपालले छ महिनापछि नेतृत्व पाएको छ । तत्कालीन अध्यक्ष बालकृष्ण बस्नेतको चारबर्से कार्यकाल गत जेठ २० गते सकिएपछि छ महिनापछि डा. कुमार शर्मा आचार्य नियुक्त हुनुभएको हो । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा मनोनय गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष आचार्यले जिम्मेवारी समालेपछि औपचारिक रूपमा प्रतिक्रिया दिने बताउनुभयो । “मलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको मिडियामार्फत जानकारी पाएँ । औपचारिक रूपमा पत्र प्राप्त भएको छैन,” गोरखापत्रसँग कुरा गर्दै आचार्यले भन्नुभयो, “अध्यक्षको जिम्मेवारी समालेपछि काउन्सिलको कामकारबाही र जिम्मवारीका विषयमा बताउने छु । तत्काल बोल्न हतार हुन सक्छ ।”
वरिष्ठ अधिवक्ता अचार्यको जन्म २०१५ साल असार २१ गते दाङको तुलसीपुर उपमहानगरपालिका–२, भमकेमा भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गर्नुभएको छ ।