• १७ मङ्सिर २०८२, बुधबार

नेता नैनसिंह महरको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक

blog

‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला ।

काठमाडौँ, मङ्सिर १७ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ।

प्रमोद खरेलको स्वर,  हरि लम्सालको संगीत रहेको  देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिपकुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दीपक विष्ट, नैनसिंह महर, मिस पवी, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायत फिचर्ड हुनुहुन्छ। 

दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ। ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राईले सार्वजनिक गर्नुभएको हो।  

गीतकार महरले कांग्रेस एमालेको सरकार बनेकै बेलामा गीत सिर्जना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो ‘जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस एमालेको सरकार बनेको थियो। त्यो सरकारले के गर्‍यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्रयाकमा लेखेको थिएँ।’ 

महरले पहिलो पटक गीत लेख्नुभएको हो। उहाँले भन्नुभयो, ‘समाजमा निराशा बढिरहेको परिस्थितिमा गीत मार्फत सपना बाँड्ने र आशा जगाउने कोशिस गरेको छु।’

गायक प्रमोद खरेलले राजनीति र साहित्य फरक विधा रहे पनि नैनसिंहले रोजेको बाटो सुखद् रहेको बताउनुभयो। सार्वजनिक गीतले समाजलाई आशाको सञ्चार गर्न सक्ने बताउनुभयो।  

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कला, साहित्य र संस्कृति देशकै पहिचान भएकाले त्यसबिना देश नबच्ने बताउनुभयो। 

गीतकार डा. भोला रिजालले राजनीतिमा प्रभाव समाउँदै आएको नैनसिंहलाई लेखनमा देशभक्ति गीत ‘मेरो देश बन्छ’ले परिचय थप्ने बताउनुभयो। ‘नैनको गीत हेरेर आफ्ना पुराना गीतको सम्झना आयो। देश बन्छ बन्छ भन्नेमा म पनि विश्वस्त छु’, रिजालले भन्नुभयो। 

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले लेखकले समाज र राष्ट्रलाई सकारात्मक दिशामा लैजाने भावका सृजना सार्वजनिक गर्न सक्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा पूर्वमन्त्री भक्तबहादुर बलायर, ओलम्पियन खेलाडी दीपक विष्ट, देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेस नेता रामहरि खतिवडा, उर्मिला थपलिया लगायतका वक्ताले गीत सफलताको शुभकामना दिनुभयो।