• ९ पुस २०८१, मङ्गलबार

युवाको उमेरमै छैन एकरूपता

blog

काठमाडौँ, भदौ ५ गते । सरकारदेखि अन्तर्राष्ट्रिय सङ्घ/संस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, युवाका क्षेत्रमा क्रियाशील राजनीतिक तथा अन्य गैरसरकारी संस्थाहरू युवाको उमेर कति हो भन्ने कुरामा एकरूपता छैन । 

युवा नीतिमा १६ देखि ४० वर्षसम्म उमेर भएका नागरिकलाई युवा मानेको भए पनि विभिन्न सरकारी कार्यालयमै युवालक्षित कार्यक्रममा युवाको उमेर फरक–फरक पाइएको छ । 

सरकारी कार्यालयका युवालक्षित कार्यक्रममा नै नीतिमा तोकिएको उमेर समूहभन्दा माथिकालाई समेट्ने गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा वितरण छनोट मापदण्डमा समेत ६० वर्षसम्म उमेर कायम गरिएको छ ।

कोषको उक्त मापदण्डमा १८ देखि ६० वर्षसम्मको उमेरका सबै शिक्षित, अर्धशिक्षित वा अशिक्षित, कुनै पनि पेसा, व्यवसाय र आयआर्जन कार्यमा संलग्न नभएका बेरोजगार व्यक्तिले यसबाट लाभ प्राप्त गर्छन् भन्ने व्यवस्था गरिएको छ । 

कोषका कार्यक्रम शाखा प्रमुख सम्झना भट्टराई वाग्लेले युवालाई मात्रै नभएर अन्य साना व्यवसायीलाई पनि समेट्नुपर्ने भएर ६० वर्षसम्म उमेर कायम गरिएको बताउनुभयो । 

संसारका विभिन्न देशमा पनि युवाको उमेर समूह फरक–फरक रहेको पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षको बीचमा कायम गरिएको पाइन्छ । संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कलगायतका अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । 

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । 

‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । 

युवा नीति २०७२ मा १६ देखि ४० वर्षबीचको उमेर समूहलाई युवाका रूपमा परिभाषित गरिएको छ । नीतिमा ‘युवा’ भन्नाले १६ देखि ४० वर्षसम्मका नागरिकलाई जनाउनेछ भनेर उल्लेख गरिएको छ । 

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले युवाको उमेर विश्वभर फरक–फरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उमेरका आधारमा परिभाषा गर्ने कि नगर्ने भन्ने बहस पनि छ ।” संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष युवा उमेर तोके पनि राष्ट्रसङ्घअन्तर्गतकै विभिन्न कार्यक्रममा युवालक्षित कार्यक्रममा फरक–फरक उमेर कायम गरिएको उहाँको भनाइ छ ।  

उहाँले विकसित देशले युवा उमेर कम र अविकसित देशले बढी कायम गर्ने गरेको सन्दर्भ जोड्नुभयो । देशको आर्थिक सामाजिक अवस्थालगायतले उमेर निर्धारणमा प्रभाव पार्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कम विकसित देशमा २४ वर्षमा त पढाइ नै सकिएको हुँदैन ।” 

युवालक्षित कार्यक्रम प्रभावकारी बनाउने हो भने प्राथमिकता निर्धारण हुन आवश्यक मानिन्छ । युवालाई भनिएका कार्यक्रम ठूलो उमेर समूहमा जाँदा कार्यक्रम प्रभावकारी हुन सक्दैनन् । नेपाली युवाको बेरोजगारी सम्बोधन गरी स्वरोजगार र उद्यमशीलताको विकास गर्न युवालक्षित कार्यक्रम प्रभावकारी हुन आवश्यक छ ।  राजनीतिक दलका भ्रातृ सङ्गठनमा पनि सरकारले तोकेको युवा उमेर कार्यान्वयन भएको छैन । सङ्गठनहरूले तोकेको उमेर समूहलाई पनि पालना गर्ने गरेका छैनन् ।