• ७ मंसिर २०८१, शुक्रबार

जनैपूर्णिमाको हर्षोल्लास

blog

काठमाडौँ, साउन २७ गते । नेपालीको महान् चाडमध्येको एक जनैपूर्णिमाको सुरुवातसँगै चाडबाडको लहर सुरु हुने विश्वास गरिन्छ। खेतीपाती सकेर बाली भित्र्याउन बसेको अवस्था अनि रोगव्याधी लाग्ने मौसमको प्रतिकूलता पनि सकिएपछि मनाइने चाड हो, जनैपूर्णिमा। यस दिन घरघरमा क्वाँटी खाई अन्य जस्तै नेवार समूहले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउने गरेका छन्। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाने चलन छ। पछिल्लो समय सबै समुदायमा यसको लोकप्रियता बढेको छ। 

बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहने संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो। नेवार समुदायमा हरेक चाडपर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई रोगसँग लड्न मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। “हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौँ,” धौभडेलले भन्नुभयो, “खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ।” गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण पनि यो मौसममा क्वाँटी खाने चलन गरिएको उहाँले बताउनुभयो। नेपाल भाषामा क्वाँ भनेको तातो हो भने टी भनेको झोल हो। ललितपुर, भक्तपुरका केही ठाउँमा क्वाँटी पुन्ही बिहीवार नै मनाइएको छ। काठमाडौँमा भने शुक्रबार मात्र क्वाँटी पुन्ही मनाउने भएको छ। 

खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ। उहाँले भन्नुभयो, “गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ।” नेवार समुदायले भने पञ्चतत्त्वसहितको डोरो बाँध्ने प्रचलन छ। यसले भूत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ। 

जनैपूर्णिमाको दिन धान खेतमा पुगेर भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाँटी राखेर खुवाउने चलन रहिआएको छ। सहरी क्षेत्रमा धान खेत कम भए पनि बारीमा भ्यागुतालाई क्वाँटी र रोटी खुवाउने चलन रहेको छ। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु-याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ। कृषक प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन्।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विशेष प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा.डा.चुन्दा बज्राचार्यले बताउनुभयो। उहाँले यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिने बताउनुभयो। रोपाइँका समयमा कृषकले आ–आफ्नो खेत खन्दा मरेका कीरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उहाँको भनाइ छ। 

प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरेको थियो। एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले पनि जनैपूर्णिमाका दिन तिनले गरेको गुण सम्झेर भात खुवाई कृतज्ञता ज्ञापन गरेको किंवदन्ती छ। यसै अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला पनि लाग्ने गर्छ। नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि भक्तजनले स्नान गर्ने गरिन्छ। गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरूको विशेष मेला लाग्दछ। परम्परागत वेशभूषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको छ।