• २९ असार २०८२, आइतबार

आदिकवि भानुभक्त साहित्यिक महानायकः प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा

अनिल पराजुली
हेटौँडा, असार २९ गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आदिकवि भानुभक्त आचार्य साहित्यिक महानायक भएको बताउनुभएको छ । २१२ औँ भानु जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आदिकवि आचार्यप्रति भावपूर्ण श्रद्धाभाव व्यक्त गर्नुभएको हो ।

वि.सं. १८७१ साल असार २९ गते अर्थात् आजकै दिन तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मनुभएका नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गरी जनजिब्रोमा मिसाउनु भएको ऐतिहासिक योगदान सबैका लागि गर्वको विषय भएको प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नुभएको छ ।

वाल्मीकि रचित संस्कृतको रामायणलाई सरल र मिठासपूर्ण नेपाली भाषामा अनुवाद गरी गाउँघरसम्म पुर्‍याउनुभएको स्मरण गर्नुहुँदै नेपाली भाषाका साथसाथै सांस्कृतिक चेतना पनि उजागर भएको बताउनुभएको छ । ‘‘हाम्रा गाउँघरहरू रामायणका श्लोक वाचनले गुञ्जायमान हुन्थे । प्रायः सबैजसोका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो र  आज पनि छ’’ प्रदेश प्रमुख देवकोटाले सन्देशमार्फत भन्नुभएको छ ।

‘‘भानुभक्तले देखाएको साहित्यिक मार्गले हामीलाई आफ्नो पहिचानको संरक्षण र संवर्धन गर्ने प्रेरणा दिएको छ’’ उहाँले भन्नुभएको छ । काव्यमा रहेको सरलता र राष्ट्रिय आत्मसम्मान आज पनि उत्तिकै सान्दर्भिक छ । यस अवसरले आफ्नो गौरवपूर्ण भाषा, साहित्य र संस्कृति प्रतिको सम्मान  र कर्तव्य स्मरण गराउँछ । त्यति मात्र होइन भानुभक्त आचार्यको घाँसीसँगको जम्काभेट जीवनको खुसी र सत्मार्गको प्रेरक प्रसङ्गसँग जोडिएको छ । यसमा लोक  कल्याणकारी मार्ग अपनाउने गहन सन्देश प्रवाह भएको छ ।

उहाँले सबैमा एकताको भावना थप प्रगाढ बनाई, नयाँ पुस्तामा साहित्यिक चेतना भरेर सृजनशीलताको नयाँ युगको प्रारम्भ गराओस् भन्ने कामना व्यक्त गर्नु भएको छ । ‘‘भानुभक्तले देखाएको मार्गमा हामी सबै अघि बढी नेपाली भाषा र साहित्यलाई माया र सम्मान गर्न सकौँ, अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यलाई अझ उजागर गर्न सकौँ भन्ने आशा व्यक्त गर्दछु’’ उहाँले सन्देशमा भन्नुभएको छ ।