• २९ असार २०८२, आइतबार

भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान् दिनः सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, असार २९ गते । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्मदिन नेपाली भाषाको गौरव गाउने महान् दिन भएको बताउनुभएको छ । आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल मात्र नभई आज दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताउनुभयो । संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गर्नुभयो । भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्त्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘भानु जयन्ती केवल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान् दिन हो । नेपाल मात्र होइन, दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो । त्यो उत्सवमा भानु जयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ । किनभने त्यो चाड भाषासँग सम्बन्धित चाड हो । संस्कृति र पहिचानको महान् चाड हो ।’’

सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशील र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभयो ।