काठमाडौं, साउन २७ गते । हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडबाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडबाड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
पोषणविद् उमा कोइरालाका अनुसार चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउलगायतका गेडागुडी मिसाएर टुसा आएको गेडागुडीलाई पकाएको झोलिलो खानेकुरालाई क्वाँटी भनिन्छ ।
उहाँले भन्नुभयो, “विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर भोलि पल्ट सुख्खा बनाएर एउटा भाडोमा तीन चार दिन राखेपछि टुसा उम्रछन् । टुसा उम्रिएका गेडागुडीलाई पकाएर सुप बनाएर खाइने खानेकुरालाई क्वाँटी भन्ने गरिन्छ ।”
“क्वाँटी” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जसको अर्थ “क्वा” भनेको तातो र “ति”भनेको झोल वा सुप भन्ने गरिन्छ ।
नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ । टुसा उम्रिएका गेडागुडी भिटामिन र मिनरल्सको स्रोत भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कोइराला बताउनुहुन्छ ।
क्वाँटीमा पोषक तत्व प्रोटिन, आइरन, फाईबर,पोटासियम, फस्फोरस, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट जस्ता पोषण तत्व पाइने हुँदा दैनिक क्वाँटी खान कोइरालाको सुझाव छ ।
क्वाँटी सबै उमेर समूहलाई निकै फाइदा जनक मानिन्छ । गर्भवती, सुत्केरी, युवा, बालबालिकाका लागि निकै लाभदायी मानिन्छ । यसमा कार्वोहाईड्रेड र चिनीको मात्रा कम हुने हुँदा मधुमेहका बिरामीको लागि उपयुक्त हुने कोइराला बताउनुहुन्छ ।
उच्चरक्तचाप, मिर्गौलाका बिरामीले चिकित्सकको सल्लाहमा मात्रै क्वाँटी खान उहाँको आग्रह छ । क्वाँटीका विभिन्न फाइदा हुन्छन् । रेसादार हुने हुँदा कब्जियत हुनबाट रोक्छ, रोग प्रतिरोधात्मक शक्ति बढाउनुका साथै बालबालिका तथा वृद्धवृद्धालाई कुपोषण हुनबाट बचाउन सकिन्छ । जनैपूर्णिमाको अवसर पारेर क्वाँटी खानुका फाइदा र बेफाइदाका विषयमा केन्द्रित भएर पोषणविद् उमा कोइरालासँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो रिपोर्ट:
भिडियोः मनोजरत्न शाही