• ७ जेठ २०८१, सोमबार

‘सम्झनामा रुस’को सङ्क्षिप्त सिंहावलोकन

blog

‘सम्झनामा रुस’ एउटा सामूहिक नियात्रा लेखकहरूको उल्लेखनीय र उदाहरणीय नियात्रा सङ्ग्रहका रूपमा आएको छ । यसमा सात स्रष्टाका संस्मरणात्मक नियात्रा सङ्ग्रहित समीक्ष्य पुस्तकको अर्को विशेषता के छ भने यसको पूर्वपीठिका रुसी भाषामा लेखिएकाले यसको सारसङ्क्षेप चाहिँ रुसी पाठकहरूले पनि सजिलोसित बुझ्न सक्छन् । यो उनीहरूका लागि सम्प्रेषणीय पनि हुन सक्छ । यो सन्दर्भका लागि पनि धेरै उपयोगी हुन सक्छ । यसबाहेक अङ्ग्रेजी भाषामा पनि यो पूर्वपीठिका भएकाले अङ्ग्रेजी भाषाका पाठकहरूले सन्दर्भको साथसाथै सम्झनाका लािग पनि उपयोगी हुन सक्छ । 

समीक्ष्य पुस्तकमा कृष्णप्रकाश श्रेष्ठको संस्मरण सर्वप्रथम राखिएको छ । पुस्किनको पदचिन्ह पछ्याउँदै, लेनिनसित सम्बन्धित स्थानहरूको यात्रानुभूति, क्रास्मोयाक्र्स मनचिन्ते यात्रामा क्रास्मोदारदखि ब्रात्सकसम्म समेत गरी तीनवटा संस्मरण सङ्ग्रहित छ । अर्का नियात्रा संस्मरणकार हुनुहुन्छ कन्हैया नासननी । उहाँले मास्कोबाट मेकानिकल इन्जिनियरमा एमए डिग्री (सन् १९७१) प्राप्त गर्ने सिलसिलामा आफ्नो संस्मरणलाई यथार्थको धरातलमा अभिव्यक्त गर्नु अभिनन्दनीय कुरा हो । उहाँको नियात्रा संस्मरण पनि तीन भागमा विभाजित छ यथा ‘पियानोमा एउटा सङ्गीत’, अतितको क्यानभाषमा मेरो छात्रावास र स्मृति पत्र रुसी गीत र सङ्गीतहरूको साहित्यिक तथा सङ्गीतात्मक अनुभूतिको अङ्कन निकै राम्रो भन्न सकिन्छ । तेस्रो संस्मरणकारका रूपमा  चन्द्रकान्त आचार्यका संस्मरणलाई ‘मास्को र किमका यात्राहरू’, मास्को सर्भे इन्टिच्युटको सेरोफेरो र रुसबाट युरोप यात्रामा जाँदा गरी तीन भागमा विभाजित गरिएको छ । रेल यात्राको क्रममा सोभियतहरूको पहिलो मायालु आतिथ्य ग्रहण गरेर आल्हादित भएको अनुभव बडो सरल र सुन्दर भाषामा अङ्कित गर्नुभएको छ । उहाँको यात्रा संस्मरणमा संवेदनशीलताको प्रशस्त पुट पाइन्छ ।

अर्का नियात्राकार जङ्गब चौहानले पनि आफ्नो नियात्रा संस्मरणलाई तीन शीर्षकमा विभाजित गरेर लयात्मक शैलीमा लिपिबद्ध गर्नुभएको छ यथा– केर्छेली साहित्यकारसँग बितेका स्वर्णिम पलहरू, कृष्ण सागरीय लहर, बालाकलाभाको साँझ र याल्टा ग्रुजुफको साहित्यिक तीर्थाटन र कवि भिक्टरसँगका क्षणहरू । उहाँ एउटा सफल अनुवादक पनि भएकाले आफ्नो संस्मरणमा पर्याप्त काव्यात्मक पुट दिनुभएको पाइन्छ ।

समीक्ष्य सङ्ग्रहको पाँचौँ लेखक हुनुहुन्छ जीवा लामिछानेका  देश टुक्रिँदाको  दुर्दशा, ऐतिहासिक सहर सन्तपितरवर्ग र महाकवि रसुलसँग जोडिएको नेपाल तीनवटा संस्मरण सङ्ग्रहित छन् । उहाँ सोभियत सङ्घको भ्रमण गर्दा आफ्नो देश नेपाललाई सधैँ मन मुटुमा राख्नुहुन्छ र पाठकलाई पनि यसबाट परिचित गराउनमा पारङ्गत हुनुहुन्छ ।

छैठौँ लेखक डा. प्रकाशराज रेग्मीका पनि तीनवटा यात्रा संस्मरण समेटिएको छ । एउटा मेडिकल डाक्टरको यात्रा संस्मरण पठनीय, प्रशंसनीय भएको छ । यथा समाजवादी अस्पतालको शøयामा केही दिन रुसको प्राकृतिक चिकित्सा केन्द्र र लेनिनको देश पढ्न पाउनुको गर्व । उहाँ मेडिकल डाक्टर भएकाले आफ्नो भ्रमण एवं विचरणको वर्णन चिकित्सकीय सन्दर्भमा गर्नु स्वाभाविक र यसमा उहाँ सफल पनि हुनुभएको छ ।

अन्तिम संस्मरणकार विष्णुबहादुर सिंह नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार नै हुनुहुन्छ । उहाँका पनि तीन यात्रा संस्मरणमध्ये मस्को भेलामा नेपाली पाहुना धेरै घतलाग्दो यात्रा संस्मरण हो । 

दोस्रो मास्कोमा रेडियो हराएको क्षण र तेस्रो समुद्रपारको साहासिक यात्रा । यो अन्तिम यात्रा संस्मरण वास्तवमा रहस्य, रोमाञ्च, साहसपूर्ण संस्मरणमा उल्लेखनीय भन्न सकिन्छ । मास्कोदेखि क्युबासम्मको सामुद्रिक यात्राको अत्यन्त रोचक, रोमांसपूर्ण तथा साहसपूर्ण वर्णन गरेर पाठकहरूलाई एकक्षणका लागि विस्मित गर्नमा सफल छ । सङ्क्षेपमा यी संस्मरणहरूको भाषाशैली शुद्ध साहित्यिक र परिमार्जित नै रहेको छ । समीक्ष्य सङ्ग्रह सराहनीय र सङ्ग्रहणीय छ । 

कृति : सम्झनामा रुस

विधा : नियात्रा

प्रकाशक : नेपाल–रुस साहित्य समाज

प्रकाशन : २०७८

पृष्ठ : १२०

मूल्य : ३००