• १३ साउन २०८१, आइतबार

मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध

blog

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करेभिरमा गएको पहिरो ।

बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन १६ गते ।
तीन दिनदेखि परेको अविरल वर्षाका कारण  मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ हैबारस्थित अक्करेभिरमा पहिरो खस्दा  मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६३ किलोमिटर सडक खण्ड सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सोमबार बिहान उक्त स्थानमा पहिरो खसेको हो ।

प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले त्यस क्षेत्रमा अहिले पनि वर्षा भइरहेका कारण पहिरो पन्छाउन समस्या भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोका कारण गन्तव्यतर्फ हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।

हैबार निवासी सुवास कोइरालाका अनुसार पहिरोका कारण यातायात ठप्प हुँदा सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रसहित पूर्वका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लाका यात्रुले सास्ती व्यहोर्नु परेको छ ।

अहिले पनि सयौँ सवारीसाधनबीच बाटोमै अलपत्र अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गकै हैबार नजिकै हर्दिनीमा पनि पहिरो जाँदा यातायात ठप्प भएको उहाँको भनाइ छ ।