• १३ साउन २०८१, आइतबार

बङ्गलादेशमा अध्ययन गरेका डाक्टरहरुबीच पुनर्मिलन कार्यक्रम

blog

काठमाडौँ, साउन १६ गते । बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी आएका डाक्टरहरुबीच पुनर्मिलन कार्यक्रम भएको छ ।  

बङ्गलादेशमा अध्ययन गरेर फर्केका डाक्टरहरुबीच एक आपसमा सहयोग तथा सद्भावको भावनाले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको हो । ‘सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बङ्गलादेश’को आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बङ्गलादेशमा नेपाली डाक्टरले अध्ययन गर्ने मौका पाएकाहरुले नेपालको स्वास्थ्य क्षेत्र हाँकेको बताउनुभयो । 

उहाँले बङ्गलादेश सरकार धन्यवादको पात्र रहेको भन्दै मन्त्री खापुङले पछिल्लो पटक स्वास्थ्यबाहेक बङ्गलादेश सरकारसँग उर्जा व्यापारको क्षेत्रमा समेत सरकारले सहकार्य गर्ने कार्य बढाएको जानकारी दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उपलव्ध गराउन बंगलादेशको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बङ्गलादेशमा अध्ययन गरेर आएका चिकित्सकबीचको पुनर्मिलन कार्यक्रमले सहयोगको भावना जागृत गराउने बताउनुभयो । 

बङ्गलादेशबाट अध्ययन गर्नुभएका वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा.भोला रिजालले आफू बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आएको ५० वर्ष पुगेको बताउनुभयो । उहाँले ५० वर्ष पहिले नेपालले बङ्गलादेशलाई सहयोग गर्ने गरेकोमा अहिले बङ्गलादेश नेपाललाई सहयोग गर्ने मुलुकमा पुगेको बताउनुभयो । डा.रिजालले विकासको दृष्टिकोणबाट नेपालभन्दा बङ्गलादेश  धेरै अगाडी रहेको भन्दै नेपालले बङ्गलादेशबाट केही सिक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार डा. आरपी विच्छा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की, बङ्गलादेशका लागि नेपालका पूर्वराजदूतद्वय प्राडा चोपलाल भुसाल, डा. वंशीधर मिश्र, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल लगायतले बङ्गलादेशमा अध्ययन गर्दाका अनुभूति सुनाउनुभएको थियो । 

उहाँहरुले नेपाल र अन्य छिमेकी मुलुकहरुमा चिकित्सा अध्ययनको सहज पहुँच नहुँदा बङ्गलादेशमा अध्ययन गर्ने मौका पाएको बताउनुभयो । कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले नेपाल र बङ्गलादेशबीचको सम्बन्धको बारेमा चर्चा गर्नुभयो । उहाँले दुई देशबीच स्वास्थ्य शिक्षामा सहकार्य हुँदै आएको बताउनुभयो । 

कार्यक्रमको संयोजन गर्नुभएका डा. राकेश साहले बङ्गलादेशबाट अध्ययन गरी फर्केका डाक्टरहरुको सङ्ख्या पाँच हजार बढी पुगेको बताउनुभयो । डा.दिनेश कोइरालाले बङ्गलादेशमा अध्ययन गरेका नयाँ र पुराना डाक्टरबीच चिनजान गर्ने र एक अर्कालाई सहयोग गर्ने उदेश्यले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा डा. भोला रिजाललाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो । बङ्गलादेशबाट अध्ययन गरी आएका अन्य डाक्टरहरुलाई समेत सम्मान गरिएको थियो । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।