• १५ असार २०८१, शनिबार

स्वास्थ्य बीमा गराएका बिरामी बढे

blog

सिराज खान 

नेपालगञ्ज, साउन ११ गते । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका बिरामीको सङ्ख्या सरकारी अस्पतालमा भने एक्कासि बढेको छ। 

यही साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम सरकारले बन्द गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरिएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बीमाअन्तर्गको उपचार गराउने बिरामीको सङ्ख्या अहिले तीन गुणाले बढेको अस्पतालले जनाएको छ।  अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा बीमाअन्तर्गतको उपचार गराउने तीन गुणा बढी आउन थालेको बताउनुभयो। 

असार महिनाको अन्तिम सातासम्म बीमा सेवा लिन अस्पताल आउनेको सङ्ख्या ९० को हाराहारीमा हुने गरेकोमा साउनको पहिलो सातादेखि यो सङ्ख्या बढेर तीन सयदेखि चार सयसम्म पुगेको श्रेष्ठको भनाइ छ। 

स्वास्थ्य बीमा सेवा लिने बिरामीको सङ्ख्या बढेपछि अस्पताललाई व्यवस्थापन गर्न मुस्किल पर्न थालेको छ। जनशक्तिको अभावले सेवा दिन हम्मेहम्मे परेको उहाँले बताउनुभयो।  सरकारले अग्रिम जानकारी नगराएर एक्कासि निजीमा बीमा उपचार बन्द गरेपछि समस्या भएको हो। 

बिरामीको चापसँगै अस्पतालमा जनशक्तिको अभाव देखिएको छ। उपचार गर्न आएका बिरामीले घण्टौँ लाइन लागेर उभिनुपर्ने समस्या देखिएको छ।