बुटवल समाचारदाता
बुटवल, चैत ४ गते । रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको छ । व्यापारीले बढी नाफा कमाउने नाममा स्टक भएको ग्याससमेत लुकाएको तथ्य बाहिरिएको छ ।
इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता सङ्घ रुपन्देहीको रोहबरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा संयुक्त अनुगमनमा १५ वटा डिलरबाट लुकाएर राखिएका पाँच सयभन्दा बढी ग्यास सिलिन्डर फेला परेको जानकारी इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले दिनुभयो ।
अनुगमन गरिएका ग्यास डिलरमा हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गे पुल), न्यु सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्यौपाने नवस्टोर (तामनगर), पृथ्वी जनप्रिय स्टोर (सैनामैना), बोलबम ट्रेडर्स (सैनामैना), ओम शान्ति सप्लायर्स (सैनामैना), लाङ्घाली बिज्रल एन्ड क्रिसन (सैनामैना) लगायत छन् ।
अनुगमनका क्रममा सैनामैना–५ स्थित लाङ्घाली ग्यास डिलरले तोकिएको मूल्यभन्दा करिब तीन सय रुपियाँ बढी लिएर ग्यास बिक्री गरेको पनि भेटिएको नासु शर्माले बताउनुभयो । उहाँले उपभोक्ताबाट बढी लिइएको रकम तत्काल फिर्ता गराइएको र उक्त डिलरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको जानकारी दिनुभयो ।
ग्यास विक्रेता सङ्घ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले जिल्लामा आवश्यकता अनुसार ग्यास आयात भइरहेको बताउँदै कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने व्यवसायीलाई सङ्घले संरक्षण नगर्ने बताउनुभयो ।