• ४ चैत २०८२, बुधबार

बन्दीपुरमा बजार अनुगमनः ग्यास वितरण सुधार्न निर्देशन

blog

बन्दीपुरमा बजार अनुगमन गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
बन्दीपुर, चैत ४ गते ।
नहुँको पर्यटकीय क्षेत्र बन्दीपुर बजारमा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै बृहत् संयुक्त बजार अनुगमन गरिएको छ । बन्दीपुर गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, इलाका प्रहरी कार्यालय, पर्यटन प्रहरी तथा नगर प्रहरीको सहभागितामा खाद्य पसलहरूको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बजार क्षेत्रका विभिन्न पसलहरूबाट उपभोग्य अवधि समाप्त भएका १२ हजार २३० रुपियाँ बराबरका सामग्री बरामद गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । ग्यास अभावको अवस्थालाई समेत मध्यनजर गर्दै खाद्य तथा पेय पदार्थको गुणस्तर, मूल्य र वितरण प्रणालीमा केन्द्रित रहेर अनुगमन गरिएको हो । अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य र अखाद्य वस्तु एउटै स्थानमा नराख्न, पहिले खरिद गरिएका सामग्रीलाई प्राथमिकताका साथ बिक्री गर्न तथा म्याद नाघेका वस्तु तत्काल बिक्री कक्षबाट हटाएर अलग राख्न निर्देशन दिएको छ । मदिराजन्य पेय पदार्थको गुणस्तर सुनिश्चित गरेर मात्रै खरिद गर्न र ग्यास वितरणमा कुनै पनि प्रकारको विभेद नगरी स्पष्ट अभिलेख राख्न पनि आग्रह गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुरजस्तो पर्यटकीय क्षेत्रमा गुणस्तरहीन वस्तुको बिक्री र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति सह्य हुँदैन । उपभोक्ताको अधिकार संरक्षण र बजारलाई व्यवस्थित बनाउने दायित्व पालिकाले कडाइका साथ निर्वाह गर्छ ।

उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर आउने पर्यटक तथा स्थानीयवासीले गुणस्तरीय सामग्री उपभोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यले अनुगमन तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्यास जस्ता अत्यावश्यक वस्तुको अभाव देखाएर उपभोक्तालाई सास्ती दिने वा वितरणमा विभेद गर्ने कार्य स्वीकार्य हुँदैन । त्यसैले अनिवार्य रूपमा अभिलेख राखेर पारदर्शी रूपमा बिक्री गर्न निर्देशन दिएका छौँ ।”

अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्य, खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगर, इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षक ईश्वर दुलाल लगायत सहभागी हुनुहुन्थ्यो । साथै राजश्व शाखा प्रमुख राधिका श्रेष्ठ, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराई, रेवान तनहुँका अध्यक्ष जितेन्द्र भूमी, क्षेत्रीय होटल संघ बन्दीपुरकी अध्यक्ष फूलमती थापा र उद्योग वाणिज्य संघ बन्दीपुरका अध्यक्ष बुद्धि कुमार श्रेष्ठ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।