• ४ चैत २०८२, बुधबार

सिभिल इन्जिनियर हुँदै नीति निर्माण तहसम्म

blog

बाबुराम शर्मा 

दोलखा, चैत ४ गते  । पेसाले सिभिल इन्जिनियर जगदीश खरेलमा उच्च शिक्षा अध्ययन गर्नेताका नै देश निर्माण गर्ने हुटहुटी थियो । अध्ययनका क्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विद्यार्थीको हक अधिकारको पक्षमा सक्रिय हुुनुभएका उहाँमा स्वच्छ राजनीति भए मात्र देशले विकासको काँचुली फेर्नेमा विश्वस्त हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “देश निर्माण गर्न सही ढङ्गले राजनीति गर्नु पर्छ । अनि मात्र परिवर्तन गर्न सकिन्छ । म त्यही सत्मार्गबाट राजनीति गरेर देश निर्माण गर्ने पक्षमा छु ।”

पूर्वाञ्चल युनिभर्सिटीमा अध्ययनमा रहँदा नेपाल विद्यार्थी सङ्घको उपसभापतिको जिम्मेवारी पूरा गर्नुभएका खरेल नेपाली कांग्रेसको काठमाडौँ कालिञ्चोक सम्पर्क समितिको सभापतिसमेत भइसक्नु भएको छ । स्थानीय नेताका रूपमा काम गरेको अनुभव उहाँसँग छ ।

कालिञ्चोक गाउँपालिका–८ मा २०४५ साल चैत २७ गते जन्मनुभएका खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनासँगै जोडिदै सङ्गठन विस्तारमा लाग्नुभयो । पेसा र राजनीतिलाई सँगसँगै लैजानुभएका उहाँ २०७९ सालको निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बनेर नेकपा (एमाले) का पार्वत गुरुङसँग पराजित हुनुभएको थियो । पहिलो प्रयासमै तीन हजार ८०१ मत ल्याउनुभएका उहाँका लागि त्यो पहिलो संसदीय निर्वाचनको अनुभव थियो तर त्यो नै उहाँको राजनीतिको प्रस्थानविन्दु बन्यो । 

विगतका अनुभवलाई सँगाल्दै भर्खरै सम्पन्न निर्वाचनमा उहाँले एमालेकै गुरुङलाई भारी मतले पराजित गर्नुभयो । एक निर्वाचन क्षेत्र रहेको दोलखाबाट ३२ हजार ३७६ मत प्राप्त गर्दै उहाँले गुरुङलाई १४ हजार ९२७ मतान्तरले पछि पार्नुभयो । उहाँ भन्नुहुन्छ, “जिल्लावासीको भरोसा टुट्न दिन्न । जिल्लाको आवश्यकतालाई सूचीबद्ध गरेर काम गर्ने छु । अहिले नै यो वा त्यो गर्छु भनेर पूरा गर्न नसक्ने कुरा बोल्न चाहन्न । जिल्लाका समस्यालाई पार्टीले मनन गर्छ । पार्टीको निर्णय अनुसार नीति निर्माण गरेर व्रmमबद्ध रूपमा काम गर्ने छु ।”

जनताको मनमा बस्न सकिने भन्दै उहाँ पार्टीको काममा निरन्तर लागेको बताउनहुन्छ । असफलता नै सफलताको सूत्र हो भनेर मेहनत गरेँ, पार्टीले पत्याएर पुनः टिकट दियो, अहिले सफलता पाएँ, उहाँले भन्नुभयो । जिल्लामा धेरै समस्या र अवसर छन्, पर्यटकीय क्षेत्र छ । महìवपूर्ण धार्मिक क्षेत्र छन् । कृषिका प्रशस्त सम्भावना छन्, उहाँ थप्नुहुन्छ, “ती सबैलाई जनताको आयआर्जन र जीवनसँग कसरी जोड्न सकिन्छ भनेर योजना बनाउने छाँै । त्यही अनुसार काम गर्ने छु ।”

निर्वाचनको समयमा सार्वजनिक गरेका वाचापत्र र सरकार निर्माण भएपछि सरकारले लिने निर्णयका आधारमा हाम्रो कामको आधार तय हुने छ, खरेलले भन्नुभयो । पार्टीका निर्णय नै हाम्रा लागि मार्गदर्शक हुन् । अहिले सस्तो आश्वासनमा हामी भुलाउन चाहँदैनौँ भन्दै उहाँले भन्नुभयो, “हामी देशमा परिवर्तन गर्न आएका हौँ । पुरातन पार्टीभन्दा पक्कै नयाँ काम गर्ने छौँ । जिल्लाको आवश्यकता अनुसार हाम्रो योजना बन्ने छ । एउटै जिल्ला भए पनि फरक भूगोल र परिवेश छ । त्यही अनुसारको योजना निर्माण गर्ने छौँ ।” १५ वर्षदेखि हाइड्रोपावर सञ्चालकका रूपमा कार्यरत उहाँले आफ्नो अनुभव र दक्षतालाई समग्र देश विकासमा लगाउँदै नीति निर्माण बनाउन आवश्यक पहल गर्ने बताउनुभयो ।