जनकपुरधाम,साउन ८ गते । बाख्रा चराउने क्रममा हराएकी सिराहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लाहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।