• १६ चैत २०८२, सोमबार

तलब निकासाको माग गर्दै शिक्षक–कर्मचारीद्वारा ज्ञापनपत्र

blog

सामुदायिक विद्यालयका प्रधानाध्यापकले तलब निकासाको माग गर्दै इलाका प्रशासन कार्यालय लहानमा ज्ञापनपत्र बुझाउँदै। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, चैत १६ गते ।
लहान नगरपालिकाका शिक्षक तथा कर्मचारीहरूले गएको पुस महिनादेखि तलब पाउन नसकेको भन्दै तलब निकासाको मागसहित ज्ञापनपत्र बुझाएका छन्।

तलब नपाएका शिक्षक–कर्मचारीहरूले इलाका प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएका हुन्। आइतबार लहान नगरपालिकाका ५९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनाल र लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएका थिए।

चार महिनादेखि तलब नपाउँदा बैंकको ब्याज तिर्न नसकेको, बालबच्चाको विद्यालय शुल्क बुझाउन समस्या भएको, घरायसी समस्या बढेको तथा नयाँ शैक्षिक सत्र सुरु भइसकेकाले पाठ्यपुस्तकलगायत विद्यालयका नियमित कामकाज सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै ज्ञापनपत्र बुझाइएको हो।

शिक्षक संघ लहानका अध्यक्ष नारायण साह र नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरकमिटीका अध्यक्ष बद्री नारायण चौधरीको अगुवाइमा ज्ञापनपत्र बुझाइएको थियो। दुई दिनअघि लहान नगरपालिकाका कर्मचारीहरूले पनि तलब निकासाको माग गर्दै इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय लहानका प्रमुख खनालले तलब निकासाका लागि सम्बन्धित निकायमा पहल गरिने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको सरुवा भएपछि आएका नयाँ प्रमुखलाई नगरपालिकाले हाजिर नगराएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बैंक खाता रोकिँदा नगरपालिकाको आर्थिक गतिविधि ठप्प भएको छ।

यता लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि उपसचिवस्तरकै प्रमुख प्रशासकीय अधिकृत आवश्यक भएकाले सरुवा भएर आएका शिक्षा शाखा हेर्ने खिम भुजेललाई हाजिरी नगराइएको स्पष्ट पार्नुभयो। उपसचिवस्तरको प्रमुख पठाउन पटक–पटक विभाग र मन्त्रालयमा जानकारी गराउँदै आएको उहाँले बताउनुभयो।

शिक्षक, कर्मचारी र सरसफाइकर्मीसहित करिब एक हजार जनाको तलब तथा विकास निर्माणको भुक्तानी दिनसमेत समस्या भएको भन्दै खाता सञ्चालनका लागि निरन्तर पहल भइरहे पनि कुनै सुनुवाइ नभएको नगरप्रमुख चौधरीले चिन्ता व्यक्त गर्नुभयो। यता तलब नपाएका शिक्षक–कर्मचारीहरूले तीन दिनभित्र कुनै निकास नआए विभिन्न चरणका आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।