नवीनराज कुइँकेल
लमजुङ, चैत १६ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका ९ पान्चोकस्थित भित्री सडक खण्डमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य दुईजना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका ३ खुदीबजारबाट वडा नं. ९ भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको खाली ट्याक्टर सडकबाट करिब ३–४ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टर चालक ताप्लेजुङ पाथीभरा याङ्लो गाउँपालिका १ घर भएका ३३ वर्षीय सुजन राई रहनुभएको छ । गम्भीर घाइते राईको उपचारका क्रममा प्रदेश अस्पताल बेंसीसहरमा सोमबार बिहान ३ः३० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
घाइते हुनेमा ताप्लेजुङको फुङलिङ नगरपालिका ९ का ३२ वर्षीय दिपेश लिम्बू र ताप्लेजुङ घर भई हाल झापा बुद्धशान्ति गाउँपालिका ४ बसोबास रहेका २६ वर्षीय सुमन राई रहनुभएको छ । उहाँहरूको बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार राति १० बजे दुर्घटना हुँदा ट्याक्टरमा किचिएका घाइतेलाई राति ११ बजे स्काभेटरको सहायतामा स्थानीय र प्रहरीले उद्धार गरिएको स्थानीय जनक भण्डारीले जानकारी दिनुभयो । मृतक र घाइतेहरू मिदिम हाईड्रोपावरको ट्रान्समिसन लाइनमा काम गर्ने कामदार रहेका प्रहरीले जनाको छ।