जुम्ला समाचारदाता
जुम्ला, चैत १३ गते । जुम्लामा बिउ राख्ने अभ्याससहित बिहीबार धान दिवस मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा बिउ कसरी राख्ने, के के विधि चाहिन्छ, सो विषयमा खेतमै गएर अभ्यास गरिएको छ । कृषि अनुसन्धान कार्यालयको प्राङ्गणमा कृषिविज्ञ र जानकार किसानले अन्य बिउ राख्ने तरिकाबारे अभ्यास गरेर उपलब्ध किसान, स्थानीय र सरोकारवालालाई सिकाएका छन् ।
कृषि विकास जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीसहित विज्ञ र स्थानीय जानकार किसानले चैत १२ गते बिउ राख्ने परम्परा, तरिकाको विषयमा अभ्यास गराउनुभयो । मार्सी धानको बिउ राख्ने परम्पराकै विषयमा जानकारीसहित विभिन्न अभ्यास गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । कृषि विकास कार्यालयले कर्णाली प्रदेश सरकारले दिएको धान दिवसको बिदाका अवसरमा जुम्लामा पनि दिवस मनाइएको हो । खस भाषाको मागल वाचन गरेर धानको बिउ राख्ने अभ्यास गरिएको थियो ।
प्रमुख अधिकारीले पोसिलो उपयुक्त खानाका रूपमा रहेको काली मार्सी धान कसरी जोगाउने भन्ने विषयमा विभिन्न काम भइरहेको बताउनुभयो । उहाँले नयाँ अनुसन्धान भएको मार्सी धानसमेत गाउँमा विस्तार गर्न कृषि कार्यालय र कृषि अनुसन्धान कार्यालयले प्रोत्साहन गरिरहेको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बिउ छर्ने तरिकाबारे जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले मार्सी धान उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
स्थानीय राजबहादुर महतका अनुसार कृषि वैज्ञानिकले गाउँ गाउँमा बिउ राख्ने प्रचलन सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले धान बचाउन सक्ने उपायमा लाग्न अनुरोध गर्दै स्थानीय तहले नै धानको रोग नियन्त्रणमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । किसान कविता पराजुलीले सबैभन्दा राम्रो र उत्तम मानिएको जुम्ली मार्सी धानको रोग नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो । जुम्लामा परम्परागत रूपमा चैत १२ गते धानको बिउ राख्ने र चैत २० गते खेतमा बेर्नामा छर्नेलगायतको काम गरिन्छ ।