अविनाश चौधरी
धनगढी, चैत ४ गते । मध्यपूर्वी देशमा भइरहेको युद्धका कारण नेपालमा हाल कुनै पनि पेट्रोलियम पदार्थहरु र अन्य अत्यावश्यकीय वस्तुहरुको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विचलित नहुन आग्रह गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सरोकारवालाको बैठकले सो आग्रह गरेको हो । साथै, आपूर्ति व्यवस्थाको नियमन कार्यमा सरकारी निकायहरुले प्रभावकारी ढङ्गले सम्पादन गरिरहेको बैठकमा जनाइएको छ ।
सो बैठकले पेट्रोलियम लगायत अत्यावश्यक वस्तुको कालोबजारी गरेको, अत्यधिक मात्रामा लुकाएको, बढी मूल्य लिएर बिक्री गरेको र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा अनुगमन गर्ने सम्बन्धित निकायले प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ ।
डिजेल, पेट्रोल, खाना पकाउने एलपिजी ग्याँस लगायतको आवश्यक वस्तुको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धतासम्बन्धी विषयमा सुपरिवेक्षण तथा बजार अनुगमन गर्ने बैठकले निर्णय गरेको छ । उपभोक्ता संरक्षण ऐन नियमावली लगायतका प्रचलित कानुन बमोजिम गठित अनुगमन समिति तथा संयन्त्रमार्फत बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
बजार अनुगमन तथा आपूर्ति नियमनकारी सरोकारवाला निकायलाई व्यावसायिक संघ संस्था, व्यवसायी, उपभोक्तावादी संघ संस्थाहरुले आवश्यक सहयोग र समन्वय एवम् सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ ।
सबै पेट्रोलियम पदार्थ तथा ग्याँस उत्पादक उद्योग र वितरकहरुलाई कालोबजारी, कृत्रिम अभाव, बढी मूल्य लिइ बिक्री गर्नेजस्ता क्रियाकलाप हुन नदिनेतर्फ सचेत रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
ग्याँस, पेट्रोलियम पदार्थहरुको मितव्ययी प्रयोेग, खपत न्यूनीकरण, सहज आपूर्ति, वैकल्पिक उर्जाको प्रयोगमा जोड दिने लगायतका विषय सम्बन्धित निकायहरुले जनचेतनामूलक सूचना एवम् सन्देशहरु प्रवाह गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा विभागीय सचिवहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना लगायतको सहभागिता थियो ।