फडिन्द्र अधिकारी
लेखनाथ, चैत ४ गते । गएको आइतबार हिमपात भएपछि मौसम सफा छ, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल सेतै छन् ।
पर्यटन नगरी पोखरामा यही मेसो अर्काे उत्सव हुँदै छ । बिहीबारबाट सुरु हुने प्याराग्लाइडिङ प्रतियोगिता सहरमाथि उड्दै तल सुन्दर फेवाताल र माथि टल्किइरहेको हिमाल नियाल्दै अवसर बनेको छ ।
पोखरा–१८, तोरीपानीबाट उडेर पामेमा खेलाडीहरू अवतरण हुने छन् । प्रतियोगिता चल्दै गर्दा नियमित प्याराग्लाइडिङ उडान प्रभावित नहुने प्रबन्ध मिलाइएको छ । २१ औँ संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप शनिबारसम्म चल्ने छ । एक्युरेसी विधाको प्रतियोगितामा सात देशका करिब एक सय जना सहभागी हुने छन् ।
आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)को अध्यक्ष अनिल केसी प्रतियोगिताले एकातिर मनोरञ्जनात्मक गतिविधि बढाउने अर्कातिर साहसिक खेलकुदको पर्यटन प्रवर्धन गर्ने उल्लेख गर्नुहुन्छ । पछिल्लो क्रममा सोलो उडान सुरु भएपछि प्याराग्लाइडिङ क्षेत्र पूर्ववत् अवस्थामा फर्किने अपेक्षा बढेको अध्यक्ष केसी सुनाउनुहुन्छ ।
“अहिले सालाखाला दैनिक एक सय जति उडान भएका छन् । सोलो उडानको अनुमति, पुरानै ठाउँबाट उडान गर्न पाइने भएपछि पहिलेकै क्रेज फर्किने अपेक्षा गरेका छौँ,” उहाँ भन्नुहुन्छ । सन् २०२३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि तोरीपानीबाट हुने गरेको उडान सारिएको थियो ।
पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा मृत्युपछि रोकिएको सोलो उडान सात महिनाअघि सुरु भएको थियो ।
प्रतियोगिता संयोजक सुनीलबहादुर भट्टराई अहिलेको च्याम्पियनसिपबाट छनोट भएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्याराग्लाइडिङ प्रतियोगिताहरूमा भाग लिन सक्ने बताउनुहुन्छ ।
पाँच वर्षपछि सुरु हुन लागेको प्रतियोगिताबाट प्यारा पाइलटहरू पनि उत्साहित छन् । प्यारा पाइलट विमल पहारी यो प्रतियोगिताले पोखरा र नेपालकै प्रवर्धन गर्ने विचार राख्नुहुन्छ । “नेपाल प्याराग्लाइडिङमा विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छ,” उहाँ भन्नुहुन्छ, “यो प्रतियोगिताले यसलाई प्रचारप्रचार गर्दै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सघाउँछ ।”
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने पोखरा इभेन्टहरूको सहर बनेको उल्लेख गर्नुहुन्छ । “इमेन्ट, महोत्सवहरूको सहर अर्काे उत्सवको तयारीमा छ,” उहाँ भन्नुहुन्छ, “यो साहसिक खेलको केन्द्र पनि हो । ताल र हिमाल हेर्दै प्याराग्लाइडिङको अनुभव लिने अवसर प्रतियोगिताले दिएको छ ।”
प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र टिम गरी तीन विधामा हुने छ । प्रतियोगितामा पुरुषतर्फ एक्युरेसी विधामा पहिलो हुनेले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रोले ५० हजार पुरस्कार पाउने छन् । महिलातर्फका विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोलाई २५ हजार पुरस्कार दिइने छ ।
च्याम्पियनसिपको टिम ओभरअल विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ७५ हजार, ५० हजार र २५ हजार पाउने छन् । प्रतियोगिता गर्न ३० लाख रुपियाँ खर्च हुने अनुमान छ ।

खेलाडीहरूलाई हावाको दिशा, तापक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिमबारे जानकारीसहितको ब्रिफिङ गरिने आयोजकले जनाएको छ । चैत, वैशाखमा पोखरामा हावाहुरी चल्ने भएकाले मौसम र जोखिम मूल्याङ्कनमा ध्यान दिइएको प्रतियोगिता संयोजक भट्टराईको भनाइ छ ।
कार्यक्रम स्थलमा स्वयंसेवक, सशस्त्र प्रहरी बल र नेपाली सेनाका मोटरबोटसहितका आकस्मिक उद्धार टोली आवश्यक उद्धार उपकरणसहित रहने छन् । च्याम्पियनसिपका सुरक्षा संयोजक योगेश भट्टराई मौसम पूर्वानुमान अध्ययन गर्दै खेलाडीलाई सुरक्षाका उपायहरू पनि सिकाइने बताउनुहुन्छ ।
प्याराग्लाइडिङ पोखराको पृथक पहिचान बनेको छ । सेती नदीको गल्छी, ताल, सहरको सुन्दरता, नियाल्दै हिमालको छेउछाउ उड्ने अवसर यसले दिएको छ । पोखरामा अहिले प्याराग्लाइडिङका ५३ कम्पनी सञ्चालनमा छन् । अहिलेसम्म चार सय १६ प्यारा पाइलट दर्ता भएकोमा दुई सय ६५ जना नियमित काममा छन् ।