नेपालको विकासमा छुटाउनै नसकिने एउटा क्षेत्र हो– पर्यटन । हिमाल, पहाड र तराईको भूबनोट, विश्वमै अग्लो हिमचुचुरो सगरमाथासहितका हिमशृङ्खला र तालतलैयाले नेपालको प्रकृतिक सौन्दर्य बढाएको छ । यो सौन्दर्यले विश्वका पर्यटकलाई आकर्षित गरिरहेको छ । यसै गरी विभिन्न भाषाभाषी, जातजति, वेशभूषाले पनि पर्यटकलाई लोभ्याइरहेको छ । यहाँका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा त विश्वमै अतुलनीय छ । चाडपर्व, जात्रामा पनि नेपाल धनी छ । नेपालका यी कुरा हेर्न विश्वका पर्यटक लालायित छन् तर पर्यटकका निम्ति हामीले पूर्वाधार खडा गर्न सकेका छैनौँ ।
सुरक्षित हवाई तथा स्थल मार्ग, गुणस्तरीय होटल र मुलुकभर शान्ति सुरक्षाको अनुभूति नगरेसम्म पर्यटक सङ्ख्या बढ्न सक्दैन । यो हाम्रा लागि मात्र होइन, विश्व पर्यटनको एउटा नियम नै हो । हामीले पर्यटनको विकास गरेर आर्थिका उन्नति गर्ने हो भने सबैभन्दा पहिले यही सर्तलाई पूरा गर्नुपर्ने हुन्छ । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकास पनि तीव्र गतिमा हुने अपेक्षा गरिएको थियो तर २०५२ सालमा माओवादी हिंसाले पर्यटन क्षेत्र ओरालो लाग्यो । त्यसपछि २०६२/६३ को जनआन्दोलनपछि मुलुक सङ्घीय गणतन्त्रात्मक मुलुकमा अगाडि बढ्यो । २०७२ सालमा संविधान सभाले नयाँ संविधान पनि जारी ग¥यो तर नेतृत्वको सही कदम नहुँदा वा स्वार्थमा लिप्त हुन्दा अरू क्षेत्र जस्तै पर्यटन क्षेत्रको पनि विकास हुन सकेन । त्यसमाथि नाकाबन्दी र कोरोनाले यस क्षेत्रलाई थप थिलथिलो बनायो । कोरोनाले त नेपालको मात्र होइन, विश्वकै पर्यटनमा मन्दी आयो । जेनजी विद्रोहपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले करिब दुई तिहाई मत पाएको छ । यस पार्टीको नेतृत्वमा अब बलियो सरकार बन्ने छ र अरू क्षेत्रले जस्तै पर्यटन क्षेत्रको पनि विकास हुने आशा यतिबेला गर्न सकिन्छ । पर्यटनको विकास क्रममा हाम्रो सुरुको अवस्था कस्तो थियो त यसबारे थोरै चर्चा गरौँ ।
नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क आधिकारिक ढङ्गले अभिलेखन कार्य सन् १९६२ देखि मात्रै भएको हो । त्यसो त सन् १९५०/५१ म नेपालमा प्रजातन्त्र प्राप्त भइसकेको थियो । यही बेलादेखि नै नेपालमा विदेशी नागरिकलाई पर्यटकका रूपमा आउन खुला गरिएको थियो । सन् १९६२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या छ हजार १७९ रहेका छन् । सन् १९६३ मा भने सात हजार २७५ दुई रहेका छन् । स्मरणीय छ, त्यो बेलादेखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएर सन् १९७० मा ४५ हजार ९७० जना पुगेको थियो । यो सङ्ख्या नेपालको पर्यटन क्षेत्रमा धेरै राम्रो मान्नु पर्छ, किनभने त्यो बेलासम्म नेपालमा हवाई तथा सडक यातायातको पहुँच धेरै कम थियो ।
विश्व पर्यटन जगत्मा नेपाल भन्ने देशको नाम भर्खरै मात्रै सुनिँदै थियो । विश्वकै अग्लो हिमचुचुरो सगरमाथामा मानवले पाइला राखेर नेपाललाई चिनाएको त थियो । त्यसो त सगरमाथा चुचुरोमा मानव पाइला टेक्नुअघि नै विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये एक रहेको ‘अन्नपूर्ण–१ (८०९१ मिटर) हिमालमा तीन वर्षअघि अर्थात् सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्जोज र लुइस लाचेनलले आरोहण गरिसकेका थिए । त्यसैले नेपाल ‘हिमालयको देश’ भनी विश्वमा जोडतोडले प्रचारप्रसार भइरहेको थियो ।
सुन्दा हत्तपत्त पत्यार नलाग्ने अथवा रोचक कुरो चाहिँ के भने, त्यो बेला युरोप–अमेरिकालगायत धेरै देशका जनताले नेपालबारे कुरो गर्दा, नेपालबारे बुझाउन खोज्दा वा नेपालको प्रसङ्गमा चर्चा गर्दा नेपाल अलग्गै देश हो, यो देश एसियामा पर्छ भन्नुभन्दा नेपाल युरोपेली देश इटालीको एक सहर ‘नेपल्स’ हो भन्ने अर्थमा बुझ्ने गर्थे रे । हुन पनि ऊ बेला आजको जस्तो सूचना जगत्को साम्राज्य चलिसकेको थिएन ।
सन् १९६२ देखि १९७० सम्म नेपाल भ्रमण गर्न आउने धेरै पर्यटक अमेरिकाकै हुन्थे । सन् १९६२ मा नेपाल आएका सम्पूर्ण पर्यटकको सङ्ख्या सात हजार १७९ जनामा तीन हजार ५८२ जना त अमेरिकाका पर्यटक थिए । यस्तै सन् १९६३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या सात हजार २७५ रहेकोमा अमेरिकी पर्यटकको सङ्ख्या तीन हजार ८६२ जना थिए । यी दुई वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्याको अंश क्र्मशः ५८.० प्रतिशत र ५३.१ प्रतिशत अमेरिकी पर्यटक रहेका थिए तर सन् १९७० मा अमेरिकाबाट नेपाल भ्रमण गर्न आएका पर्यटकको सङ्ख्या ३१.२ प्रतिशतमा झरेको थियो । यो सङ्ख्या पनि कुनै एक देशबाट नेपाल भ्रमण गर्न आएका पर्यटकको हिसाबले हेर्दा धेरै राम्रो मान्नु पर्छ ।
यसै गरी ऊ बेला नेपाल भ्रमण गर्न आउने दोस्रो स्थानमा चाहिँ संयुक्त अधिराज्य बेलायतका पर्यटक थिए । तथ्याङ्क अनुसार बेलायतबाट सन् १९६२ मा ५५० जना र सन् १९६३ मा ८६२ जना पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । नेपाल भ्रमण गर्न आउने तेस्रो ठुलो सङ्ख्याको स्थान चाहिँ फ्रान्सका पर्यटकको थियो । सन् १९६२ मा फ्रान्सबाट ५२८ जना र सन् १९६३ मा ५८३ जना पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यसरी पर्यटकको आधिकारिक तथ्याङ्क नेपाल सरकारले राख्न थालेको बेलादखिको आठ वर्षको अर्थात् सन् १९६२ देखि सन् १९७० सम्मको आठ वर्षमा अमेरिकाबाट एक लाख ६८ हजार ११० जना पर्यटक नेपाल भ्रमण गर्न आएको थिए । त्यस्तै बेलायतबाट २० हजार ३१२ जना पर्यटक आएका थिए । फ्रान्सबाट १६ हजार ८१५ जना आएको तथ्याङ्क छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, (तत्कालीन पश्चिम जर्मनी) अस्टे«लिया, जापान, क्यानडा, स्विट्जरल्यान्ड, इटाली, डेनमार्क यी १० देश नेपालका प्रमुख पर्यटक थिए ।
कमाइ कति हुन्थ्यो ?
माथिको छोटो विवरणमा सन् १९६२ देखि सन् १९७० सम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्याबारे केही उल्लेख गरियो । अब त्यो आठ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट वार्षिक कमाइ चाहिँ कति भयो त नेपाल सरकारको ? यस सम्बन्धमा पनि केही चर्चा गरौँ ।
आर्थिक वर्ष २०१८/१९ मा पाँच लाख ९४ हजार ४५४ रुपियाँ, आव २०१९/२० मा नौ लाख २४ हजार रुपियाँ, आव २०२०/२१ मा १४ लाख ६९ हजार ६३ रुपियाँ, आव २०२१/२२ मा १६ लाख २७ हजार १५० रुपियाँ, आव २०२२/२३ मा ३० लाख ३४ हजार ६०१ रुपियाँ, आव २०२३/२४ मा ६० लाख ५० हजार चार रुपियाँ, आव २०२४/२५ मा ८२ लाख ७७ हजार ६०८ रुपियाँ, आव २०२५/२६ मा ९९ लाख दुई हजार ८३८ रुपियाँ, आव २०२६/२७ मा एक करोड ३१ लाख नौ हजार ३२७ रुपियाँ, आव २०२७/२८ मा एक करोड ७२ लाख ७१ हजार ६४८ रुपियाँ सरकारले पर्यटन क्षेत्रबाट आम्दानी गरेको थियो ।
कुन उमेर समूहका आउँथे ?
सन् १९६२ देखि १९७० सम्मको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको उमेर १४ वर्षसम्म उमेर समूहका एक हजार ६१४ जना, १५ देखि २९ वर्ष उमेर समूहका १६ हजार ३०२ जना, ३० देखि ४४ वर्ष उमेर समूहका एघार हजार २४० जना, ४५ देखि ५९ उमेर समूहका नौ हजार ५५९ जना, ६० वर्षभन्दा माथिका छ हजार ९१८ जना र उमेर समूह उल्लेख नगरिएका ३३८ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए ।