गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा निर्वाचनअगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा नेप्से परिसूचक ३८ अङ्कले बढेर २७ सयको विन्दुभन्दा माथि लागेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सेयर बजारमा लगानीकर्तामा आत्मविश्वास बलियो देखिँदा परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । राजनीतिक स्थायित्वको अपेक्षा र नीतिगत स्पष्टताको आशामा बजार उल्लेखनीय रूपमा बढेको हो । पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर सुधार देखिएको बजारले मङ्गलबार उच्च अङ्कले गति लिएको हो ।
निर्वाचनपछि देशमा राजनीतिक स्थिरता हुने छाँटकाँट देखिएपछि लगानीकर्ता ढुक्क भएर कारोबारमा लाग्न थालेको बताउनुहुन्छ लगानीकर्ता ईश्वरी पौडेल । निर्वाचनको माहोलले लगानीकर्ताको दुबिधा हटाएको उहाँको भनाइ छ । निर्वाचनपछि आर्थिक नीतिमा स्थायित्व आउने अनुमानका कारण बजारमा खरिद चाप बढेको छ भने अधिकांश उपसमूहमा हरियाली छाएको र ठुला कम्पनीमा समेत सक्रिय कारोबार देखिएको छ ।
मङ्गलबार नेप्से ३८.५२ अङ्कले सुधारिँदा परिसूचक २७१२.४९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अङ्क बढेर ४६५.९९ को विन्दुमा पुगेको छ । समग्रमा तेस्रो दिनको नेप्से १.४४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.३६ प्रतिशतले बढेको छ ।
निर्वाचनअघिको अन्तिम कारोबार दिन ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ३४ करोड ६५ लाख ३० हजार ३७९ रुपियाँ बराबरको सेयर कारोबार भएर सर्वाधिक सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटामध्ये १२ उपसमूहको परिसूचक उकालो लागेका छन् । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले उकालो लागेको छ भने लघुवित्त उपसमूह १.६६ प्रतिशत, बैङ्किङ १.६४ प्रतिशत, होटेल तथा पर्यटन १.६० प्रतिशत र विकास बैङ्क १.५९ प्रतिशतले उकालो लागेका छन् व्यापार भने ०.८८ प्रतिशतले ओरालो लागेको छ ।