गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन अवधिमा पनि बैङ्क तथा वित्तीय संस्थाका सेवा सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्वाचनका कारण निरन्तर सार्वजनिक बिदा परेकाले अत्यावश्यक बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।
यसअघि फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा तथा १९ गते तराईका जिल्लामा होलीपर्वको सार्वजनिक बिदा परेको छ । लगातार बिदा परेकाले वित्तीय कारोबार प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउन भनेको छ ।
राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्क तथा वित्तीय संस्थाले तोकिएका शाखा तथा काउन्टरमार्फत नगद जम्मा–निकासा, चेक क्लियरिङ, राजस्व सङ्कलनलगायत अत्यावश्यक सेवा उपलब्ध गराउने भएका छन् ।
यसै गरी निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने संस्थामार्फत राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक वा अन्य विनिमय साधनमार्फत हुने दाखिला तथा भुक्तानीसम्बन्धी बैङ्किङ सेवा पनि नियमित रूपमा प्रदान गर्न राष्ट्र बैङ्कले व्यवस्था मिलाउन भनेको छ ।