गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १८ गते । नेपाल टेलिकमले एकै पटक १० हजारसम्म सामूहिक एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकले एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक हजार २४३ रुपियाँमा दुई हजार, तीन हजार १०८ मा पाँच हजार र छ हजार २१५ मा १० हजार एसएमएस पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्ने प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने छ ।
कम्पनीले प्रेषित सन्देशको शब्द तथा भावलगायतबारे पठाउने व्यक्ति वा संस्था स्वयम् पूर्ण जिम्मेवार हुनुपर्ने स्पष्ट पारेको छ ।
टेलिकमको वेबसाइटमा गु्रप एसएमएस लगइन गरेर यो प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउन आवश्यक नम्बर एक्सेल सिटमार्फत अपलोड गर्नु पर्छ । त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ ।