• १४ असार २०८१, शुक्रबार

टिकटकमा व्यस्त व्रतालु

blog

काठमाडौँ, साउन ३ गते । साउनको पहिलो सोमबार रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको बिहानैदेखि हरेक शिवालयमा घुइँचो लागेको थियो । पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रूपमा लिइने तथा पार्वतीले महिनाभर निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्त्वका रूपमा लिने गर्छन् । 

‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ’ संस्कृतविद्हरूको भनाइ छ । यद्यपि यस पटक शिवालय तथा मन्दिर वरपर महिलाहरू व्रत पूजाआजाभन्दा पनि टिकटक बनाउनमा व्यस्त देखिए । साउने सोमबारमा टिकटक नबनाए व्रत नै पूरा नहुने नयाँ संस्कार देखिन्थ्यो । जानुका काफ्लेले बिहानदेखि आठवटा टिकटकमा पोस्ट गरिसकेको बताउनुभयो । साउने व्रत भनेकै राम्री बन्ने हो । राम्री भएर व्रत बसेका बेलामा टिकटक नबनाइ हुँदैन, हरेक पर्व वा उत्सवमा म टिकटक बनाउने गर्छ‘, उहाँको भनाइ छ ।

जानुका मात्र होइन अन्य पनि मन्दिरमा पूजा गर्ने भन्दा पनि फोटो खिच्न तथा टिकटकमा व्यस्त देखिन्थे । सेल्फी लिनमा व्यस्त अञ्जना भडेल भन्नुहुन्छ, व्रत केका लागि त थाहा छैन तर सबै साथीहरूले बसौँ भन्यो त्यसैले बसेको हो । फलफूल, जुसहरू खान्छु । व्रत भनेर भोकै भने बस्दिनँ उहाँले प्रस्ट पार्नुभयो । साउनको महिना राम्री भएर आएकी छु, फोटो खिचेर फेसबुकमा राख्ने मन त भइहाल्छ, उहाँले भन्नुभयो ।  सम्झना उप्रेतीले व्रतभन्दा पनि राम्री भएर मन्दिर जाने र फोटो खिच्ने अनि टिकटक बनाउने रहर भएको बताउनुभयो ।

शिवजीसँग जोडिएको महिना भएकाले महिलाका लागि यो महिना बढी महत्त्वपूर्ण मानिन्छ । साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो, संस्कृतविद् ओम धौभडेलले भन्नुभयो । 

साउने संस्कृति चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । पुराणअनुसार साउनको सोमबार भगवान् शिवको दिन भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवं दर्शन गर्नाले छिट्टै प्रसन्न हुने धार्मिक विश्वासले भक्तजनको भीड लाग्ने गरेको धौभडेलले प्रस्ट पार्नुभयो । साउनको सोमबार शिवलाई शुद्ध जल वा दूध चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पशुपति मन्दिर परिसरमा भेटिनुभएकी रेणुका क्षेत्री भन्नुहुन्छ, हरेक वर्ष आफ्ना श्रीमान्को सुस्वास्थ्यको कामनाका गर्दै व्रत बसेकी छु । असल सुन्दर राम्रो वर पाउन यो व्रत बस्ने पनि छन् । अविवाहित शिला ठकुरी यसैका लागि व्रत बसेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, हरियो भनेको प्रकृतिले दिएको उपहार हो जुन मैले चुराका रूपमा लगाएकी छु र मेहन्दी लगाउनुको मुख्य कारण भने मेरो हुनेवाला श्रीमान्ले कत्तिको माया गर्छ भनेर जोखना गर्न पनि हो ।  पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको बडामहादेवलगायत उपत्यकाका प्रमुख शिवालयमा एकाबिहानैदेखि भक्तजनको उपस्थिति रहेको थियो ।

थरीथरीका व्रतालु महिला

व्रत बस्दा कसैले आफूलाई लाभ भयो भनेर दाबी अहिलेसम्म गरेको छैन तर पनि सोमबारको व्रत बस्न महिला तथा किशोरीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । साउने सोमबारको व्रत बस्नेहरूको मान्यता पनि फरकफरक छ । पशुपति मन्दिरमा पूजा गर्न आउनुभएको सरिता लामिछाने भन्नुहुन्छ, साउनको सोमबार व्रत बसेपछि श्रीमान्को आयु बढ्छ । यता कल्पना श्रेष्ठ भने हप्तामा एकदिन व्रत बस्दा आफ्नै स्वास्थ्य राम्रो हुने धारणा व्यक्त गर्नुहुन्छ । केही महिला भने हरियो चुरा र रातो साडी लगाएर फेसबुकमा फोटो हालेपछि लाइक धेरै आउँछ भन्नेमा उत्साहित छन् ।

हप्तामा एकदिन व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो भन्ने मान्यता राख्नुहुन्छ, मिनु कोइराला । नर्सिङ पेसामा आबद्ध कोइरालाले निराहार व्रत नबस्ने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “पानी प्रशस्त पिउँछु र पेट खाली राख्दा स्वास्थ्य जटिल हुन्छ भन्नेमा सचेत हुन्छु । केही न केही खाने गरेको छु ।”