पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक ११ गते । लोकआस्थाको महान् पर्व छठ मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिएर तराई–मधेश क्षेत्रमा भव्यताका साथ समापन भएको छ । चार दिनसम्म मनाइएको यस पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालुहरूले नदी, तलाउ र पोखरी किनारमा बनाइएका छठ घाटहरूमा भेला भई छठी माता र सूर्यदेवको पूजाअर्चना गरेका थिए ।
सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएकोमा मगलबार बिहान सबेरै नदी वा जलाशयको पवित्र जलमा उभिएर व्रतालु महिला तथा पुरुषहरूले उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ प्रदान गरेपछि छठ महापर्वको विधिवत् समापन भएको छ ।
उल्लासमय वातावरणः तराई–मधेशका प्रमुख शहरदेखि गाउँ बस्तीसम्मका छठ घाटहरूमा व्रतालु तथा दर्शनार्थीको ठुलो घुइँचो लागेको थियो । रातभरि भजनकीर्तन र छठी गीत गाएर बसेका भक्तजनहरूले सूर्यको पहिलो किरण देखिने वित्तिकै केराका घारी, ठेकुवा, भुसवा, फलफूल तथा नैवेद्यसहितको ‘दउरा’ (बाँसको टोकरी) लिएर अर्घ दिएका थिइएको छ ।
आस्था र सद्भावको पर्वः छठ पर्वलाई पारिवारिक सुख, सन्तानको कल्याण, स्वास्थ्य र मनोकामना पूर्तिका लागि कठोर नियमका साथ मनाइन्छ । यस पर्वले तराई–मधेशको धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । छठ घाटमा धनी, गरिब, ठुलो, सानो सबै एकै ठाउँमा भेला भएर पूजाअर्चना गर्दा सामाजिक एकताको अनुपम उदाहरण प्रस्तुत भएको थियो ।
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै व्रतालुहरूले ३६ घण्टा लामो निर्जला उपवास तोडेका छन् । यस वर्षको छठ पर्व हर्षोल्लास र श्रद्धाका साथ सम्पन्न भएकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।