• ११ कात्तिक २०८२, मङ्गलबार

उदाउँदो सूर्यलाई अर्घ दिएर नेपालगन्जमा छठ पर्व सम्पन्न

blog

स्थानीय बागेश्वरी मन्दिरको तलाउ छेउमा उदाउदो सूर्यलाई अर्घ दिँदै । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, कात्तिक ११ गते ।
स्थानीय बागेश्वरी मन्दिरको प्रसिद्ध तलाउ किनारमा मङ्गलबार बिहानै पुजन सामग्रीसहित सयौंको सङ्ख्यामा भेला भएका महिला र पुरुषहरुले उदाइरहेको सूर्यलाई अर्घ दिएर चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ सम्पन्न गरेका छन् ।

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको नेपालगन्जका शैक्षिक अगुवा रविन्द्र कर्णले बताउनुभयो । ब्रतालुहरुले सोमबार साँझ बागेश्वरी मन्दिरको सोही तलाउ किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले मङ्गलबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएको कर्णले जनाउनुभयो ।

सोमबार साँझ र मङ्गलवार बिहान सूर्यलाई अर्घ दिन नेपालगन्ज र सो वरिपरिका विभिन्न नदी, तलाउ, खोला लगायतका किनारमा व्रतालुहरुको घुइँचो लागेको थियो । अर्घको रूपमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

केही वर्ष पहिलेसम्म समिति व्यक्तिहरुले मात्र मनाउँदै आएको छठ पर्व पछिल्लो समयमा आएर नेपालगन्जमा मनाउनेको सङ्ख्या बढ्दै गएको छ । छठ मनाउनेको सङ्ख्या नेपालगन्जमा विगतका वर्षहरु भन्दा यस वर्ष झन् बढेको छठ पर्व व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र सिंहले बताउनुभयो ।

उहाँले पहिले कम मानिसले यो पर्व मनाउने गरेपनि पछिल्लो समयमा नेपालगन्जका ठुलो सङ्ख्याका मानिसले छठ मनाउन थालेको बताउनुभयो । छठ सबै नेपालीको साझा भइसकेको पनि अध्यक्ष सिंहले बताउनु भयो ।

यसअघि पूर्वी तराईमा सीमित छठ नेपालगन्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवम् धार्मिक सद्भावमा सहयोग पुगेको स्थानीय अगुवा विश्वजित तिवारीको भनाइ छ ।

‘‘एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगन्जमा अन्तरधार्मिक सद्भाव मजबुत छ’’, उहाँले भन्नुभयो । उहाँले छठ पर्वप्रति नेपालगन्जवासीको मोह तिव्र गतिले बढ्दै गएको पनि बताउनुभयो । विभिन्न धर्मावलम्बीहरु बिच सद्भाव बढ्दै गएपछि नेपालगन्जका मुस्लिम धर्मावलम्वीले हिन्दूको र हिन्दू धर्मावलम्बीले मुस्लिमको पर्व खुलेर मनाउने गरेका छन् ।