बाँदरझुला (चितवन), फागुन १३ गते । खरले छाएको झुप्रो घर कोल्टे ढल्केको छ । घरधनी ४९ वर्षीय बद्रीमाया प्रजाकी वयोवृद्ध बिरामी आमा त्यही घरको पिँढीमा ओछ्यान पर्नुभएको लामो समय भयो । २०७२ सालको भूकम्पले ढल्काएको त्यो घर जस्तै उहाँको मन भोट माग्न आउने नेताहरूसँग कोल्टे परेको धेरै वर्ष बितिसकेको छ । सम्भवतः यही भएर होला देशभर चर्चाको केन्द्रमा रहे पनि उहाँलाई यही २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे खासै चासो छैन ।
चितवनको यो विकट क्षेत्र बाँदरझुलामा यतिखेर चर्चाको शिखरमा रहनुभएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोविता गौतमलगायत नेताहरू तँछाडमछाड गर्दै भोट माग्दै हुनुहुन्छ । बद्रीमाया दिक्दारीमै सुनाउनुहुन्छ, “जहिल्यै चुनावमा भोट चाहिँ माग्न आउँछ, दिएर जितायो, त्यसपछि छैन । नेताहरू कता हराउँछ कता ।” उहाँलाई एक मन त लाग्छ कि भोट नदिऊँ । तर पर्व जसरी बाजागाजा बजाएर गाउँमा चुनाव आउँछ । बत्ती जस्तै चमकधमकमा गाडीको लहर लाएर नेताहरू अहिले पनि मत माग्न धाइरहेका छन् । अब त हेर्लान् कि भन्ने आसमा दिन मन लाग्ने उहाँ सुनाउनुहुन्छ । उहाँका आठ सन्तानमध्ये पाँच छोरीको बिहे भइसकेको छ । कान्छी छोरी र दुई छोरा साथै छन् ।
विगत ३५ वर्षदेखि बाँदरझुलालाई थातथलो बनाएर बस्नुभएकी उहाँले कैयौँ पटक गाउँबाट लखेटिँदाको पीडा भोग्नुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि मध्यवर्ती क्षेत्र बनेको गाउँमा अहिलेसम्म बिजुली पुगेको छैन । न त राम्रो बाटो छ, न त सफा खानेपानीको सुविधा नै छ । २०५८ सालमा यहाँबाट सार्ने भनेर अमुवा खोलाको किनारमा लगेर राखिदिँदा खान नपाएर कतिको बगरमै ज्यान गएको उहाँको स्मरणमा ताजै छ ।
उहाँले सम्झनुभयो, “बगरका छेउमा गिट्ठा भ्याकुर, कुभिन्डो जे भेट्यो त्यही खाएर बाँच्यौँ, तर सर्ने ठाउँ देखाउन नसकेपछि छ महिनापछि जबरजस्ती यतै फक्र्यौं र ज्यान जोगायौँ ।”
वयोवृद्ध कृष्णमाया प्रजा हातमा लालपुर्जा नपाएरै जुनी सकिन लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “खै माग्न आउँछन्, के के भन्छन्, म त बुझ्दैन कुरो, लालपुर्जा देऊ भन्छु आउनेसँग ।” कतिखेर भत्किएला झैँ खङ्ग्रङ्ङ परेको बल्लतल्ल एक दुई जना बस्न मिल्ने सानो झुप्रो देखाउने अर्की वृद्धा फूलमाया चेपाङको कथा पनि उस्तै छ ।
उहाँ भन्नुहुन्छ, “ऊ हेर्नूस् यही हो छोराको अनि ऊ त्यो मेरो घर, अध्याँरो घरको धनीपुर्जा छैन, काम पनि छैन, सास बसुन्जेल अडिन पनि गाह्रो छ यहाँ ।”
स्थानीय सुदन तामाङका अनुसार निकुञ्जका वन्यजन्तुले खेतीबाली खाएर हैरान गर्छन् । बाली लगाएदेखि नपाकेसम्म मचानमा बसेर दिनरात धपाउन नसके छ महिना खान पुग्दैन । बाँकी छ महिना अरू गाउँमा ज्यालामजदुरी गर्न युवा जाने गरेका छन् । कतिपय युवाहरू ऋण गरेर विदेश जाने क्रम बढेको छ । नेताहरूले यही गाउँमा नागरिकता बाँडेर राज्यको नागरिक बनाएर आफूहरूलाई भोट बैङ्कका रूपमा बारम्बार प्रयोग गरिरहेको महेश मोक्तान बताउनुहुन्छ ।
बुथ राख्न मिल्ने, बत्ती दिन नमिल्ने !
स्थानीय रविलाल पौडेलका अनुुसार पटक पटक भोट माग्न आउने नेताहरूले जग्गाको निस्सा दिएको पनि धेरै वर्ष बितिसकेको छ । लालपुर्जा आज आउँछ, भोलि आउँछ भन्छ तर कहिल्यै आएन । नापीनक्सा भएर कसको कति जग्गा भनेर सर्वेक्षणपछि निस्सा बाँडिएको हो । तर राज्यले दिने आधारभूत सुविधाको हकदार कहिले हुन नसकेको पीडा खिल झैँ बिझेको छ ।
उहाँ भन्नुहुन्छ, “चुनाव जितेको भोलिपल्टै पोल ठड्याएर बत्ती बाल्दिन्छु र लालपुर्जा हातमा दिन्छु भनेर हिजो पनि भने, आज पनि भन्दै छन्, पहिले बाल्देऊ भन्यो, चुनावका बेला निर्णय गर्न मिल्दैन भन्छन् ।”
चितवन देशकै सुगम जिल्ला भएर पनि यहाँका बासिन्दा टुकीका भरमा अँध्यारो कटाउन बाध्य छन् । स्थानीय इच्छाबहादुर विक भन्नुहुन्छ, “बाँदरझुलामाका बासिन्दा अहिले पनि टुकीका भरमा रहनु कुन सुगमता हो, नेताहरूलाई लाज लाग्दैन ?” देशले अनेकौँ शासन व्यवस्था भोगेर कतिलाई फालि पनि सके तर बाँधरझुला जुनसुकै व्यवस्थामा पनि उस्तै छ ।
पुराना दलका नेताहरूले बहुदल आउनुअघिदेखि हालसम्म भोट मात्रै लिएको बताउनुहुने शान्ति सुवेदी यस पाला नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पनि फेरि त्यसै भनेको सुनाउनुभयो । भोट लिनेहरू चुनावैपिच्छे थपिए पनि स्थानीयको जीवनमा सुख कसैले थप्न नसकेको पिरलो पोख्नुभयो ।
यहीँको भोटले जितेर तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री नै बन्नुभयो । उहाँ मात्र हैन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई पनि पटक पटक जिताएको स्थानीय राजु अधिकारी सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो भोटले उहाँहरूलाई प्रधानमन्त्री बन्न चाहिँ धेरै महìव हुने, हामीलाई बाटो, बिजुली, कुलो, पुलेसो चाहिँ कहिले नबनाउने ।” यो क्षेत्रबाट जितेर प्रधानमन्त्री, सांसद, मन्त्री बनेर पनि केही नगरेका नेताहरूले भविष्यमा पनि गर्छन् भन्ने आस नरहेको स्थानीय सुनाउँछन् ।
माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने बाँदरझुला गाउँको नाम अहिले हनुमानझुला राखिएको छ । देशकै सुगम मानिने भरतपुर महानगरपालिकाबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको ठोरी र भारतको सिमाना बाँदरझुलाले छुन्छ । हनुमानझुला भनिए पनि विकासको सञ्जीवनी नपाउँदा यहाँका झन्डै आठ सय घरधुरीको जीवन फेरिन सकेको छैन ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने यस गाउँमा मात्र एक हजार १६२ मतदाता छन् । अलिक पर कुसुमखोला, प्याउलीको चेपाङ बस्तीमा पनि उही दरका मतदाता सरकारी सुविधाविहीन छन् । त्यस्तै दुई हजारभन्दा बढी मतदाता भएको कृष्णनगरको हालत उस्तै छ । राईडाँडा, रिउ, राप्तीको नदीकिनारामा बस्ने बोटे, माझी, मुसहर, दराई र दलित समुदायका बस्तीमा सुदिन आउन नसकेको राजमान दराई बताउनुहुन्छ ।
अन्य भेगमा जति मत आए पनि माडी र यहाँका सुकुमवासी क्षेत्रको मत जहिले पनि उम्मेदवारका लागि निर्णायक रहने गरेको छ । त्यसैले सबै नेता यहाँको मत आफ्नो पोल्टामा पार्न चाहन्छन् । बाँदरझुलाका अगुवा जगरमान प्रजा यहीँ बुथ राखेर भोट लिन सरकारले मिलाउँदा सुविधा दिन किन नमिलेको भन्ने कुरा आफँैमा बाझिने गरेको टिप्पणी गर्नुहुन्छ ।
उहाँका अनुसार स्थानीयकै पहलमा गाउँमा विद्यालय र केही सङ्घसंस्थाको पहलमा आयआर्जनका गतिविधि नहुने हो भने बाँदरझुलाका बासिन्दा निरक्षर हुन्थे । यस पटकको निर्वाचनमा अहिले नेकपाका नेतृ दाहाल, रास्वपाका नेतृ गौतमबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यहाँ नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ, नेकपा (एमाले) का शङ्करराज थपलियासहितका उम्मेदवार रहनुभएको छ ।