• ४ फागुन २०८२, सोमबार

उम्मेदवारको क्षमता पहिचान गर्ने कसरतमा मतदाता

blog

दमक (झापा), फागुन ४ गते । ‘फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सबैले भाग लिऔँ अनि मतदान गर्न आवश्यक कागजपत्र आजैदेखि जोहो गर्न थालौँ ।’ नेपाली झन्डा फहराउँदै गुडेको टुकटुक टेम्पोमा मतदाता शिक्षकले झापा क्षेत्र नम्बर ५ को कमल गाउँमा आइतबार दिउँसो मतदातालाई यसै गरी आह्वान गर्न सुरु गरे । 

निर्वाचन आयोगको घोषणा अनुसार फागुन ३ गतेबाट देशका अन्य निर्वाचन क्षेत्र जस्तै यहाँ पनि मतदाता शिक्षा सुरु भएको हो । कमल गाउँको भित्री सडकमा गुडेको टुकटुकको आवाज पछ्याउँदै बाटोमा हिँडेका पुलुक्क फर्के । घरभित्र रहेका भोट माग्न आए कि भनेर ढोकाबाट चियाउन थाले । चोक चोकमा रहेकाले बल्ल गाउँघरमा चुनाव आयो भन्न थाले । अघिल्ला दिनसम्म घरदैलो गरेका नेता फागुन ४ गतेदेखि औपचारिक सभा, समारोहमार्फत निर्वाचनको प्रचारप्रसारमा उत्रिने तयारीमा जुटेका छन् । झापा क्षेत्र नम्बर ५ का चर्चित उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा झर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष बालेन्द्र शाह पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाली कांग्रेसका मन्दरा चिमरिया र नेकपाका रञ्जित तामाङसहितका २४ जना उम्मेदवार यो क्षेत्रमा हुनुहुन्छ । सोमबारदेखि दमक र आसपासका गाउँ, सहरमा चुनावी प्रचार तीव्र हुने भएको छ । 

यता मतदाता भने आफ्नो अधिकारमा रहेको शासकीय हक कसलाई दिने भनेर मत र मन एकसाथमा ल्याउने कसरतमै व्यस्त छन् । सत्र दिन बाँकी रहेको निर्वाचनका बहुचर्चित उम्मेदवारबिच यो पल्टको मतदानको लहर रस्साकस्सीमय देखिएको छ । दमक बजारमा बिहानैदेखि चोक चोकका भक्का पसल, चिया पसल, फलफूल पसल, खाजा तथा खाना घर, बसपार्क र सफारी पार्कसँगै चटपटे र किराना पसलमा निर्वाचनकै कुराकानी हुने गरेको छ ।  चोकमा बिहानैदेखि कसले के भन्छन् र माहोल कता जाँदै छ भनेर सुन्ने बुझ्नेको पनि छुट्टै माहोल छ । दमककी अघिल्लो पुस्ताकी दीपा सुब्बाले नयाँ पार्टीलाई अवसर दिनु पर्छ भन्दै गर्दा कांग्रेस, एमाले, माओवादीले गरेका विकासको चर्चा र स्थायित्वको जवाफ त्यहीँकै पदम तामाङ दिनुहुन्छ । उहाँले भन्नुभयो, “ओलीले यत्रो एसियन हाइवे दमकमै जोडिदिनुभएको छ, बालेन बेकारमा यहाँ फस्नुभएको हो, ओलीको गढमा बालेनले जति मेहनत गरे पनि गाह्रै हुन्छ ।” मत बझाउँदै दीपा भन्नुहुन्छ, “नयाँ भनेर हुन्न, बालेनसँग उमेर छ, जोस छ, उहाँले पाँच वर्षमा चाहे धेरै काम गर्नुहुन्छ भन्ने विश्वास छ ।” उता जेनजी उमेरका मतदाताको सोच भविष्यमुखी देखिन्छ । नेपालमै गरिखान पाउनुपर्ने बन्दोबस्त मिलाउने शासन चाहिने भएकाले अब बालेन्द्र शाहबाटै त्यसको सुरुवात हुन्छ भन्ने दाबी उहाँहरूको छ । विकास र भविष्यको सोचबिचको जुझारुपन देखाउने प्रयासमा नयाँ पुस्ता लागिपरेका छन् । बाटो बनायो, पुल बनायो भनेर नहुने तर्क उहाँहरूको छ । जुन सरकार आए पनि त्यो सरकारले गर्नैपर्ने नियमित विकासको काम हो । त्यो त माथिको सरकारको बजेटमै पर्छ । यहाँ मैले ल्याएँ भनेर होइन, अब भविष्य कस्तो हुन्छ र कसरी हुन्छ भन्ने स्पष्ट सोचसहितको सरकार चाहिएको नयाँ पुस्ताका जुनु मिश्र र एलिसा राना बताउनुहुन्छ ।