• २७ माघ २०८२, मङ्गलबार

पोखरा र भैरहवा विमानस्थल सञ्चालन

अन्तर्राष्ट्रिय विमान सेवाको सहभागिता खोजी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय विमान सेवाको सक्रिय सहभागिताका आवश्यक हुने बताउनुभएको छ । 

सोमबार मन्त्रालयमा कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिसँगको भेटवार्तामा उहाँले यस्तो आवश्यकता औँल्याउनुभयो । उहाँले यसका लागि कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताउनुभयो ।भेटमा नेपाल र कतारबिच आर्थिक विकास, पर्यटन प्रवर्धन तथा सहयोग आदानप्रदानबारे छलफल भएको महासङ्घले जनाएको छ । भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवर्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र कतारबिच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबिच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको जनाइएको छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबिच पर्यटन, लगानी, उड्डयन, होटेल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताउनुभयो । उहाँले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताउनुभयो ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतारको निजी क्षेत्रको चासो रहेको बताउनुभएको थियो । उहाँले उड्डयन र पर्यटन सहकार्यले दुई देशबिचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कतारी प्रतिनिधिमण्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैठकका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा आइतबार नेपाल आएको हो ।