शारदा समाचारदाता
शारदा (सल्यान), माघ २७ गते । सल्यानमा मरेका भेडाबाख्रामा बढी खाएर हुने रोग (ओभर इटिङ रोग) पुष्टि भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा मरेका बाख्रा र भेडाबाट सङ्कलन गरिएको नमुना परीक्षण गर्दा ‘एन्टेरोटोक्सेमिया टाइप डी पोजेटिभ’ देखिएको हो ।
छत्रेश्वरी गाउँपालिका–१ फारुलिबोटमा गत पुसमा किसानले पालेका छ वटा बाख्रा र तीन वटा भेडा मरेका थिए । गाउँपालिकाले मरेका भेडाबाख्राको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । नमुना परीक्षण गर्दा ‘एन्टेरोटोक्सेमिया टाइप डी पोजेटिभ’ देखिएको हो । परीक्षण प्रतिवेदन अनुसार ती पशुमा भेडाबाख्रामा देखिने ‘ओभर इटिङ रोग’ पुष्टि भएको गाउँपालिकाका पशु चिकित्सक डा. रुकेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ओभर इटिङ रोग अचानक राम्रोसँग मोटाएका र स्वस्थ देखिने भेडाबाख्रामा देखिने गम्भीर रोग हो । धेरै दाना, दुध वा हरियो घाँस एक्कासि धेरै खुवाउँदा, अचानक आहारा परिवर्तन गर्दा तथा अत्यधिक कार्बोहाइड्रेटयुक्त खाना खुवाउँदा यो रोग लाग्ने गर्दछ । आन्द्रामा स्वाभाविक रूपमा रहेको ब्याक्टेरियाले विष (टक्सिन) उत्पादन गरेपछि जनावर एक्कासि मर्ने गर्दछ ।
यो रोग लागेका भेडाबाख्रामा अचानक मृत्यु हुने, झट्का लाग्ने, घुमिरहने, टाउको ठोक्ने, असन्तुलन हुने, कहिलेकाहीँ अन्धोपन देखिने तथा पखाला लाग्ने जस्ता लक्षण देखिने र केही घण्टापछि वा एक दिनभित्रै पशुको मृत्यु हुन सक्ने डा. घिमिरेले जानकारी दिनुभयो ।
यसरी अचानक मर्ने रोगबाट जोगिन नियमित खोप र सन्तुलित आहार नै मुख्य उपाय रहेको उहाँले बताउनुभयो । धेरै मोटाएका भेडाबाख्रामा सबैभन्दा बढी जोखिममा रहने भएकाले किसानले विशेष ध्यान दिनु आवश्यक रहेको उहाँको भनाइ छ ।