गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २७ गते । जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत प्राप्त भएको छ । आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा उहाँको सत्तारूढ दल लिबरल डेमोक्रेटक पार्टी (एलडिपी) ले दुई तिहाइ बहुमत प्राप्त गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको हो ।
प्रधानमन्त्री सानेले आफ्नो लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउनुहुने भएको छ । संसदीय चुनावमा दुई तिहाइ बहुमत प्राप्त भएपछि उहाँले उक्त शक्तिलाई ठोस कानुनी र नीतिगत कदममा अनुवाद गर्ने तयारी सुरु गर्नुभएको हो । सोमबार उहाँले मन्त्रीपरिषद् पुनर्गठन गरी ढिलाइ भएको बजेटलाई अघि बढाउने प्रक्रिया सुरु गर्नुभयो । यसबाट आगामी साता हुने मतदानमार्फत उहाँ प्रधानमन्त्रीका रूपमा पुनः चयन हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री सानेले आफ्नो प्रयासले जापानलाई अझ बलियो र समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । मत गणनाको नतिजा अनुसार उहाँ नेतृत्वको एलडिपीले ३१६ सिट जित्दै ४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाइ बहुमत हासिल गरेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै उच्च जनमत हो । जापान इनोभेसन पार्टीसँगको गठबन्धनसहित सत्तारूढ गठबन्धनको कुल सिट सङ्ख्या ३५२ पुगेको छ । एलडिपी मुख्यालयमा उहाँले विजयी उम्मेदवारका नाममाथि रातो रिबन टाँस्दै खुसी व्यक्त गर्नुभयो ।
यद्यपि माथिल्लो सदनमा पूर्ण बहुमत नभए पनि तल्लो सदनको बलियो समर्थनले प्रधानमन्त्री सानेलाई अर्थतन्त्र र सैन्य क्षमताको विस्तारसम्बन्धी एजेन्डा अघि बढाउन सहज बनाएको छ । चीनसँग बढ्दो तनाव र अमेरिकासँग सम्बन्ध सुदृढ गर्ने प्रयासबिच उहाँले विपक्षीसँग संवाद गर्दै नीतिगत लक्ष्य अघि बढाउने बताउनुभएको छ । “म लचिलो हुने छु,” उहाँले भन्नुभयो । साने लोकप्रिय भए पनि एलडिपी हालैका वर्षमा कोष र धार्मिक घोटालाबाट प्रभावित भएको थियो । यही पृष्ठभूमिमा उहाँले पद समालेको तीन महिनामै मध्यावधि चुनावको आह्वान गर्नुभएको थियो । अक्टोबरमा जापानकी पहिलो महिला नेतृका रूपमा पदभार समाल्नुभएकी उहाँले ‘काम गर्ने, काम गर्ने, काम गर्ने’ नारासहित सव्रिmय शैली अपनाउनुभएको छ जसले युवा मतदातामा निकै प्रभाव पारेको देखिएको छ । विपक्षी दलहरू विभाजित रहेकाले बलियो चुनौती दिन सकेनन् । पूर्वगठबन्धन साझेदार कोमेइटो र कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीको नयाँ गठबन्धनले ठुलो सिट गुमाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सानेलाई ‘ऐतिहासिक जित’ का लागि बधाई दिनुभएको छ । आगामी दिनमा प्रम सानेले ढिलाइ भएको बजेट पारित गर्दै बढ्दो लागत र सुस्त ज्याला सम्बोधन गर्ने आर्थिक उपाय लागु गर्नुहुने छ । साथै डिसेम्बरसम्म सुरक्षा र रक्षा नीति संशोधन गरी सैन्य क्षमता सुदृढ गर्ने, हतियार निर्यात प्रतिबन्ध हटाउने र रक्षा खर्च बढाउने लक्ष्य राख्नुभएको छ । उहाँले आप्रवासन र विदेशी स्वामित्वमा कडा नीति प्रस्ताव गर्नुभएको छ । विश्लेषकका अनुसार यी कदमले जापानलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्न सक्छ तर नागरिक अधिकार, क्षेत्रीय कूटनीति र आन्तरिक धु्रवीकरणका विषयमा बहस अझ तीव्र हुने सम्भावना छ ।
थाइल्यान्डमा पनि प्रमकै दल विजयी
यसै गरी थाइल्यान्डमा पनि आइतबारै सम्पन्न आमनिर्वाचनमा सत्तारूढ भुमजैथाई पार्टीले विजय प्राप्त गरेको छ । त्यहाँको पाँच सय सदस्यीय प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चार सय सिटका लागि भएको निर्वाचनमा भुमजैथाई पार्टीले १९४ सिटमा विजय हासिल गरेको बिबिसीले जनाएको छ । यो जितसँगै प्रधानमन्त्री अनुतिन चार्नभिराकुल सत्तामै रहने निश्चित भएको हो । यद्यपि सरकार गठनका एकल बहुमत नपुगेका कारण उहाँले अन्य दलसँग गठबन्धन गर्नुपर्ने भएको छ ।
पिपुल्स पार्टीले ११७ सिटसहित दोस्रो स्थान प्राप्त गरेको छ । अघिल्लो निर्वाचनबाट प्रमुख शक्ति बनेको पपुलिस्ट दल प्यु थाई पार्टी यसपालि खुम्चिएको छ । उसले ८६ सिट मात्रै पाएको छ । बाँकी सिट अन्य साना दलले बाँडेका छन् । भुमजैथाई पार्टीले भने अघिल्लो निर्वाचनको तुलनामा यस पटक व्यापक सुधार गरेको छ । उसले यसपालि दोब्बर बढी सिट जितेको हो । सन् २०२३ मा उसले ७१ सिट प्राप्त गरी तेस्रो भएको थियो ।
यसैबिच थाइल्यान्डमा निर्वाचनसँगै भएको जनमतसङ्ग्रहमा मतदाताले सन् २०१७ को सैन्य शासनकालमा बनेको संविधान सुधार गर्ने पक्षमा मतदान गरेका छन् । मत परिणाम अनुसार करिब ६५ प्रतिशत मत संविधान संशोधनको पक्षमा परेको छ ।
आलोचकका अनुसार हालको संविधानले निर्वाचित नभएका संस्था, विशेष गरी अदालत र सिनेटलाई अत्यधिक शक्ति दिएको छ । थाइल्यान्डले सन् १९३२ मा राजतन्त्रलाई संवैधानिक बनाएयता २० पटक संविधान फेरिसकेको छ ।