• २६ माघ २०८२, सोमबार

एडभेन्चर रनिङ महासङ्घद्वारा खेलाडी सम्मानित

blog

सम्मानित भएका खेलाडीहरू ।

काठमाडौँ, माघ २६ गते । नेपाल एडभेन्चर रनिङ महासङ्घले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा/ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ । 

महासङ्घको वार्षिक साधारण सभाका अवसरमा सोमबार खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाया, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा हुनुहुन्छ । 

सोही अवसरमा विश्व प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल एवं प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । 

संस्थातर्फ हिमालयन एक्सट्राइ प्रालि र हिमालयन रनिङ क्लब, ललितपुर सम्मानित भए । खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता र नेपाल एडभेन्चर रनिङ महासङ्घका अध्यक्ष एकेन्द्र कुँवरले एक कार्यक्रमबिच सम्मान गर्नुभयो । 

साधारण सभाले वार्षिक प्रतिवेदन पारित गरेको महासङ्घका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो । साधारणसभाले विभिन्न घरेलु प्रतियोगिता आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने निर्णय गर्नुका साथै आगामी वर्षका लागि एक करोड १० लाख रुपियाँ बजेट पारित गरेको अध्यक्ष कुँवरले बताउनुभयो ।