काठमाडौँ, माघ २३ गते । काठमाडौँको टोखा नगरपालिका वडा नंं ३ स्थित साङ्बो भोटेसहितका परिवारको सांस्कृतिक पर्वका लागि बनाइएको तुङ्बा लगायतका सामग्री प्रहरीले नष्ट गरेपछि सो परिवार समस्यामा परेका छन् ।
स्थायी घर संखुवासभा भइ हाल टोखा नगरपालिकामा बस्दैआएका भोटेले आफन्तको विवाह र नजिकिँदै गरेको ग्याल्पो ल्होसारका लागि सांस्कृतिक पर्वमा अनिवार्य चाहिने उक्त सामग्री प्रहरीले आकस्मिक रुपमा नियन्त्रणमा लिइ नष्ट गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अगाडि नै सूचना पाएका थिएनौं । एक्कासी प्रहरीले हाम्रो सामान लगेर गयो । अब हामी के गर्ने ? कसो गर्ने भेनर विचल्लीमा परेका छौं ।” उहाँ दुई छोरी, एक बिरामी श्रीमान र वृद्धा सासु आमासँगै बस्दै आउनुभएको छ ।
यसैगरी, संखुवासभाका पीम्मा भोटे बच्चालाई विद्यालय पु¥याउने समयमा प्रहरीेले एक्कासी घरको ताला फुटाएर आफ्नो सामान लगेको बताउनुभयो । पिम्माले भन्नुभयो, “माघ १८ गते दिउँसो म बच्चा लिन स्कुल गएको समयमा घरमा प्रहरीले ताला फुटाएर मेरो सामान लगिदियो । यसले गर्दा हामी समस्यामा परेका छौं” उहाँ दुई बच्चासँग बस्दै आउनुभएको छ ।
सो घटना सम्बन्धमा नेपाल आदिवासी जनजाति महासङ्घले भोटे परिवारलाई शुक्रबार नगद ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष गेल्जे शेर्पाले यो विषयमा महासङ्घले समिति निर्माण गरेर अघि बढ्ने बताउनुभयो । यस विषयमा स्थानीय सरकार, प्रहरी लगायत सम्बन्धित सबै पक्षसँग संवाद गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
शेर्पाले भन्नुभयो, “यो विषयमा समिति बनाएर एउटा बिन्दुमा पु¥याउने कोसिस भइरहेको छ । यो आदिवासी जनजातिको परम्परामाथिको हस्तक्षेप हो । नजिकै आइरहेको ग्याल्पो ल्होसार, उहाँहरुको घरमा विवाहबारी भइरहेको रहेछ । यसलाई आदिवासी जनजातिमाथिको हस्तक्षेपको रुपमा लिएको छु ।”
यसैगरी, महासङ्घका महासचिव दिवस राईले भोटे परिवारको मानव अधिकारमाथि हनन भएको भनाइ राख्नुभयो । राईले भन्नुभयो, “जन्मदेखि विवाह, र मृत्यु लगायतका सबै कार्यमा परम्परागत पुख्र्यौली हिसाबले यो अनिवार्य छ । यो सरकारले नष्ट ग¥यो । यसको हामीले विरोध गर्नुपर्छ । पेशा, व्यवसाय वा सांस्कृतिक चीजलाई संरक्षण गर्ने हिसाबले मान्यता दिनुपर्छ । यो निर्वाद रुपमा प्रयोग गर्न दिनु नै उसको मानव अधिकारको संरक्षण हो ।”