• १३ साउन २०८१, आइतबार

२०९ औँ भानु जयन्ती विशेष समारोह

blog

काठमाडौं, असार ३१ गते। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एल.आर.आई. विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वादविवाद, वक्तृत्व कला, सामूहिक रामायण वाचन, रचना वाचन तथा अन्तरविद्यालय कविता प्रतियोगिता सञ्चालन गरेर कार्यक्रम सम्पन्न भएको हो। 

विद्यालयका प्राचार्य डा.देवकान्त जोशी र प्रमुख अतिथि साहित्यकार नरनाथ लुइँटेलले भानुभक्तको योगदान तथा साहित्यको सन्दर्भमा चर्चा गर्नुभयो।  कार्यक्रमले विद्यार्थीका प्रतिभा अझ जागृत हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने कुरा विद्यालयका संस्थापक शिवराज पन्तले जानकारी दिनुभयो। 

अन्तरविद्यालय कविता प्रतियोगितामा वाचन गरिएका कवितामा तरुण मावि बालाजुका विजय लामिछाने, सिद्धार्थ वनस्थली स्कुलकी छात्रा सुरिश्मा अधिकारी, गंगा सेकेण्डरी स्कुलकी छात्रा संगीता मालाकारले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो। 

विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै विश्व निकेतन माविका रुविज मल्ल र ज्ञानोदय मा.वि.की छात्रा विज्ञता गोतामेले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ। 

विद्यालयको आन्तरिक प्रतिस्पर्धामा विभिन्न विधाका सहभागीमध्ये वक्तृत्व कलामा प्रसिद्ध महत, आरुषी  चौधरी,  तेजस्वी गौडेल, दुना आचार्य वादविवादमा कृषभ पन्त, प्रसून पाण्डे, एकल कविता वाचनमा लेनिशा भट्ट, सानिध्यराज ढुंगेल, कुश कर्ण अन्य कविका रचना वाचनमा मृत्युञ्जया लामिछाने अनि समूह वाचन रामायणमा सगरमाथा सदनले प्रथम स्थान हासिल गरेका छन्। अन्य विद्यार्थी दोस्रो, तेस्रो तथा सान्त्वना स्थानमा रहेका छन्। सहभागी सबैलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ। 

आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गर्नुभएको थियो। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लयका साथ पाठ गर्ने गरिन्छ।