• २ चैत २०८२, सोमबार

माइतीको प्रतीक्षामा छोरीचेली तथा दिदीबहिनी

blog

घरमै उपलब्ध परिकार बोकेर छोरीचेली भेट्न हिँडेका मेलौलीका महिला । तस्बिर : फाइल तस्बिर

वासुलिङ समाचारदाता

वासुलिङ बैतडी, चैत २ गते । चैत महिना सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ । विशेष गरी बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित छोरीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रहिआएको छ ।

भिटौलो सुदूरपश्चिमको पुरानो सांस्कृतिक परम्परा हो । यस अवसरमा दाजुभाइ तथा माइती पक्षका आफन्तले मिठोमसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरीबहिनीको घरमा पुग्ने गर्छन् । भेटघाटसँगै एक/दुई दिन ससुरालीमै बसेर परिवारबिच दुःखसुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार धीरबहादुर विष्टले बताउनुभयो । पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन् । टाढा बसोबास गर्नेहरू पनि चैत महिनामा सकेसम्म छोरीबहिनीलाई भेट्न जाने प्रयास गर्ने गर्छन् । समाजमा चैत महिनाभित्र दिदीबहिनीलाई भेट्न नजाँदा अपशकुन हुने विश्वास रहेको विष्टले बताउनुभयो ।

यही कारणले दाजुभाइ कहिले भेट्न आउलान् भन्ने प्रतीक्षामा दिदीबहिनीहरू बाटो कुर्ने चलन अझै जीवित छ । आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अरू दाजुभाइले पनि गएर भेट्ने परम्परा रहेको पाइन्छ ।

भिटौलोले माइतीघरबाट पराइघर गएकी छोरीबहिनीप्रति माया, सम्मान र आत्मीयता प्रकट गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ । यसले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक पहिचानका  रूपमा लिइन्छ । पहिले भिटौलो जाँदा घरमै उपलब्ध परिकार, अन्नबाली तथा घरेलु सामग्री लिएर जाने चलन थियो । पछिल्लो समय भने बजारबाट किनेर लैजाने सामग्रीको प्रयोग बढ्दै गएको पाटन नगरपालिका–३ का स्थानीय हेमन्ती पन्तले बताउनुभयो । भिटौलो पर्वका कारण चैत महिनाभर स्थानीय बजारमा पनि चहलपहल बढ्ने गरेको स्थानीय व्यापारी वीरेन्द्र भट्टले बताउनुभयो । परम्परादेखि चल्दै आएको यो चलन आज पनि सुदूरपश्चिमका समुदायमा दाजुभाइ र दिदीबहिनीबिचको मायाको प्रतीकका रूपमा जीवित रहेको शैल्यशिखर नगरपालिका–४ का स्थानीय धाना भट्टले बताउनुभयो ।