चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर घर र विद्यालय संरचनामा क्षति गरेको छ । आइतबार बेलुका वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेर सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा क्षति गरेको हो ।
लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार हावाहुरीका कारण सिमल र बरको रुख ढलेर लिम्बुदिनको चुङ्बुङ टोलका टीका राईको घरमा क्षति पुगेको छ । ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोग गरी निर्माण गरिएको घरमा क्षति पुगेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
त्यस्तै सोही ठाउँमा रहेको अम्विका आधारभूत विद्यालयको शौचालयमासमेत क्षति पुगेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । रुढ ढलेर पुगेको क्षतिको विवरण सोमबार बिहानदेखि सङ्कलन गरिने पनि उहाँले जानकारी दिनुभयो । रुख ढलेर घरसहितका संरचनामा क्षति गरेको भए पनि मानवीय क्षति भने हुन नपाएको वडाध्यक्ष लिम्बूको भनाइ छ ।
यता हावाहुरीले ढलेको उक्त रुखका कारण सडकसमेत अवरुद्ध भएको छ । सो सडक अवरुद्ध हुँदा सिदिङ्वा गाउँपालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुम्खिमसहित सिरिजङ्घा गाउँपालिकाको वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन चल्ने लामो तथा छोटो दूरीका यातायात साधन चल्न पाएका छैनन् । रुख पन्साएपछि मात्र यातायात सञ्चालनमा आउने लिम्बूले बताउनुभयो ।
यस्तै हावाहुरी र वर्षासँगै असिना पर्दा खेतीबालीमा पनि क्षति पुर्याएको छ । स्थानीय किसानका अनुसार असिनाले नगदेबाली अलैँची, खाद्यान्न बाली मकै, तरकारी, फलफूल लगायतमा क्षति गरेको छ ।