काठमाडौँ, माघ १६ गते । नेपालमा नर्सिङ अध्ययन गरेका अधिकांश विद्यार्थी स्वदेशमा राम्रो अवसर नभएपछि विदेश जाने सोचले निर्देशित हुने गरेका छन् । नर्सिङ तेस्रो वर्षमा अध्ययनसँगै उनीहरू विदेश जानका लागि तयारी गरिरहेका हुन्छन् ।
यस्तैमध्येका एक हुनुहुन्छ– रियासा खड्का । उहाँले पढाइसँगसँगै विदेश जानका लागि तयारी थालिसक्नुभयो । यस्तै पिसिएल नर्सिङ अध्ययन सकेर छ महिनाको अनुभवपछि सरु रुपाखोतीले अमेरिकाका लागि पहल गर्नुभयो । उहाँको भिसा लाग्यो । अमेरिका गएर थप अध्ययन गरेपछि यतिखेर सरुको कमाइ राम्रो छ । “एक घण्टाको ६५ डलर कमाउँछु,” रुपाखेतीले भन्नुभयो, “यहाँ जति अनुभव बढ्दै गयो, तलब त्यति बढ्दै जान्छ ।”
करिना घिमिरे काठमाडौँमा बिएस्सी नर्सिङ अध्ययन गर्दै हुनुहुन्छ । “नर्सिङ पास गरिसकेपछि उहाँको योजना अमेरिका या अस्ट्रेलिया जाने हो । नेपालमा मास्टर्स पढे पनि तलब सुविधा पिसिएल नर्सिङकै दिइन्छ । अरू देशमा नर्सलाई जति सम्मान र तलब दिन्छन्, त्यो नेपालमा नभएपछि किन नेपालमा बसिरहनुप¥यो ?” घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, “म मात्र होइन, मसँगै अध्ययन गरेका अधिकांश साथीको सपना अमेरिका र अस्ट्रेलिया हो ।”
नर्सलाई युरोप, अमेरिका जान सहज भएकाले नेपाली नर्सहरूको रोजाइ अमेरिका, युरोप, युके, अस्ट्रेलिया, क्यानडालगायतका देशमा हुने गरेको उहाँको भनाइ छ । यी प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा अध्ययन गरेका नर्सका लागि नेपालमा राम्रो अवसर नहुँदा विदेश पलायन हुने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले भने नर्सका लागि सरकारले ठुलो काम गरेको बताउनुभयो । उहाँले ११ हजार तलब पाइरहेका नर्सले ३४ हजार पाँच सय तलब पाइसकेको बताउनुभयो । अब सरकारी र निजी क्षेत्रले एउटै तलबमा लगाउनुपर्ने उहाँले बताउनुभयो । “यो नर्सका लागि ठुलो प्रगति हो,” डा. शर्माले भन्नुभयो, “अवसर पाएपछि बिदेसिनु स्वाभाविक हो ।”
नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले अवसर खोजीमा नेपाली नर्सहरू बिदेसिन बाध्य भएको बताउनुभयो । उहाँले नर्सिङ सङ्घको आन्दोलनका कारण निजी अस्पतालमा कार्यरत नर्सको तलब ३४ हजार पाँच सय पु¥याउन सफल भएको बताउनुभयो ।
निजीमा पनि सरकारीसरह तलब सुविधा दिने सर्वपक्षीय सहमति भइसकेको भन्दै उहाँले त्यसको कार्यान्वयनमा कडाइसाथ लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष शर्माले नर्सका लागि विदेशमा राम्रो अवसर भएकाले नेपालमा बसेर सेवा गर्न नचाहेको बताउनुभयो ।
सङ्घकी महासचिव डा. देवका आचार्यले पछिल्लो समय सरकारी अस्पतालबाट नर्स पलायन हुने क्रम बढेको बताउनुभयो । “नेपालमा स्थायी रोजगारी हुँदाहुँदै पनि विदेश जाने तयारी गरिरहेका हुन्छन्,” डा. आचार्यले भन्नुभयो, “नेपालमा गरेकै दुःख र मेहनतले विदेशमा लाखौँ कमाउन सकिने भएकाले नर्स बिदेसिएका हुन् ।”
उहाँले प्रमाणपत्र तह अध्ययन (पिसिएल) का लागि आठ लाख रुपियाँ खर्च हुने र स्नातक तह अध्ययनका लागि १५ लाखभन्दा बढी खर्च हुने गरेको जानकारी दिँदै सरकारी तथा तथा निजी अस्पतालले अत्यन्त न्यून पारिश्रमिकमा काममा लगाएपछि नर्स विदेश पलायन भइरहेको बताउनुभयो । नेपाल नर्सिङ परिषद्को तथ्याङ्क अनुसार हरेक वर्ष एक हजारभन्दा बढी नर्स बिदेसिने गरेका छन् । परिषद्को तथ्याङ्कबाहेकका नर्स पनि विदेश जाने गरेका छन् । कतिपय नर्सिङ अध्ययन गर्न जाने र उतै कार्यरत छन् । २०८१ चैतसम्ममा ४५ हजार ४०० नर्सले विदेश जानका अनुमतिपत्र (एनओसी) लिएका छन् ।
मनाइयो नर्सिङ दिवस
यसैबिच बिहीबार नेपाल नर्सिङ सङ्घको ६४ औँ वार्षिकोत्वस तथा नर्सिङ दिवस मनाइएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री डा. सुधा शर्माले नर्सिङ क्षेत्रमा धेरै समस्या रहेको बताउनुभयो । उहाँले नर्सिङ क्षेत्रमा भएका समस्या समाधान गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रका सबै विषयलाई पारदर्शी बनाउनेतर्फ लागिरहेको भन्दै उहाँले नर्सको भावनाको प्रतिनिधित्व हुने गरी काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नर्सका समस्या समाधानका लागि सङ्घले आन्दोलन गरेको स्मरण गर्दै अब नर्सले सात/आठ हजारमा काम गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।