• १८ माघ २०८२, आइतबार

सांसदको दौडमा १४ जेनजी महिला : के–के छन् एजेण्डा

blog

काठमाडौँ, माघ १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ जम्मा तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ र महिला उम्मेदवार तीनसय ८८ जना छ । 

उक्त तीनसय ८८ महिला उम्मेदवारमध्ये २८ वर्ष उमेर समूहभित्रका १४ जना जेनजी महिला चुनावी मैदानमा उत्रने भएका छन् । ठुला राजनीतिक दलबाट भने सो समूहभित्रका जेनजी महिला उम्मेदवारको सङ्ख्या शून्य छ । 

नेपाल मजदुर किसान पार्टीबाट चार, मंगोल नेशनल अर्गनाइजेसनबाट दुई, राष्ट्रिय परिवर्तन पार्टीबाट एक, उज्यालो नेपाल पार्टीबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक, आम  जनता पार्टीबाट एक, मितेरी पार्टी नेपालबाट एक र स्वतन्त्रबाट तीन जना उम्मेदवार २८ वर्ष उमेर समूह भित्रका छन् । 

कोशीबाट तीन जना

कोशी प्रदेश अन्तर्गत तीन जना जेनजी महिला प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । तेह्रथुमको क्षेत्र नं. १ बाट २६ वर्षीया उषालक्ष्मी तुम्वाहाङ्फे (राष्ट्रिय परिवर्तन पार्टी), मोरङको क्षेत्र नं. ५ बाट २५ वर्षीया गंगाकुमारी राजवंशी (नेपाल मजदुर किसान पार्टी),  ओखलढुङ्गा क्षेत्र नं. १ बाट २६ वर्षीया किशोरी कार्की (उज्यालो नेपाल पार्टी) उम्मेदवार  छन् । 

मधेशबाट तीन जना

मधेश प्रदेश अन्तर्गत तीन जना जेनजी महिला प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । सप्तरी क्षेत्र नं. १ बाट २५ वर्षीया रामकुमारी खङ (स्वतन्त्र),  सप्तरीको क्षेत्र नं. २ बाट २५ वर्षीया निलमकुमारी यादव (नेपाल मजदुर किसान पार्टी),  धनुषाको क्षेत्र नं. १ बाट २८ वर्षीया किरणकुमारी कापर (स्वतन्त्र) उम्मेदवार हुनुहुन्छ ।  

बागमतीबाट दुई जना

बागमती प्रदेश अन्तर्गत दुई जना जेनजी महिला प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । दोलखाको क्षेत्र नं. १ बाट २८ वर्षीया सर्मीला फुयाल चौलागाई (स्वतन्त्र), चितवनको क्षेत्र नं. २ बाट २८ वर्षीया ऋषा गोले (मंगोल नेशनल अर्गनाइजेसन) उम्मेदवार हुनुहुन्छ ।

गण्डकीबाट एक जना

गण्डकी प्रदेश अन्तर्गत तनहुँको क्षेत्र नं. २ बाट २८ वर्षीया सुस्मा आले (मंगोल नेशनल अर्गनाइजेसन) प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ ।  

कर्णालीबाट दुई जना 

कर्णाली प्रदेश अन्तर्गत दुई जना जेनजी महिला प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । हुम्ला क्षेत्र नं. १ बाट २६ वर्षीया टासी ल्हान्जोम (राष्ट्रिय स्वतन्त्र पार्टी),  दैलेख क्षेत्र नं. २ बाट २७ वर्षीया तिर्था कुमारी बर्शी मगर वि.क. (आम जनता पार्टी) उम्मेदवार हुनुहुन्छ । 

सुदूरपश्चिमबाट तीन जना

सुदूरपश्चिम प्रदेशअन्तर्गत तीन जना जेनजी महिला प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । कैलाली क्षेत्र नं. १ बाट २५ वर्षीया सुनिता भण्डारा (नेपाल मजदुर किसान पार्टी), कैलाली क्षेत्र नं. २ बाट २७ वर्षीया सम्झना विष्ट थापा (मितेरी पार्टी नेपाल) र कैलाली क्षेत्र नं. ५ बाट २८ वर्षीय तृषण पुन मगर (नेपाल मजदुर किसान पार्टी) बाट उम्मेदवार रहनुभएको छ । 

भड्किलो प्रचार गर्दैनौं

ओखलढुङ्गा–१ की उम्मेदवार किशोरी कार्की गुणस्तरीय शिक्षा, व्यावसायिक कृषि प्रणालीको विकास, पर्यटन, स्वास्थ्य सेवामा नागरिकको पहुँच लगायतका मुख्य एजेण्डा लिएर चुनावी प्रचार-प्रसारमा होमिनुभएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिलो एजेण्डा भनेको ओखलढुङ्गालाई पर्यटकीय स्थल भनेर चिनाउन सकिरहेका छैनौं । दोस्रो कुरा नेपालको दोस्रो अग्लो पोकली झर्ना ओखलढुङ्गामै छ । यसलाई देशव्यापी रुपमा चिनाउन सकिरहेका छैनौं । प्लस टु पढेपछि स्नातक तहको गुणस्तरीय पढाइ छैन । हाम्रो भाइ, बहिनी काठमाडौँमा भाडा तिरेर बस्नुका सट्टा यही राम्रो एजुकेसन सिस्टम राम्रो बनाउन सक्यौं भने हाम्रो नानी, बाबु यही पढ्नेछन् ।”

उहाँले आफू पुराना राजनीतिक दललेजस्तो ठुला–ठुला एजेण्डा, भड्किलो प्रचार-प्रसारभन्दा पनि यथार्थ प्रतिबद्धताका साथ आम नागरिकसमक्ष गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा बाँड्ने, गाडी, घोडा लिएर हिड्ने त्यस्तो तामझाम केही पनि छैन । हाम्रो नयाँ पार्टी नयाँ बिरुवा हुर्काएजस्तै हो । मलाई सामान्य हिड्डुल गर्न चाहिने, ब्यानर बनाउन चाहिने यस्ता खर्च मात्रै जनतासँग उठाएर मैले गरिरहेको छु । ठुला व्यापारीसँग ऋण लिएको छैन ।”

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. १२ मा सम्पर्क कार्यालय स्थापना गरेर चुनावी अभियानमा होमिनुभएको छ । मतदातले पनि जेनजी उम्मेदवारलाई प्रोत्साहित गरेको उहाँको भनाइ छ ।

एआई शिक्षामा विकास

हुम्ला–१ की उम्मेदवार टासी ल्हान्जोम सो क्षेत्रबाट हालसम्मकै कान्छी उम्मेदवारको रुपमा हुनुहुन्छ । हुम्लामा शिक्षा, स्वास्थ्य सँगसँगै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आधुनिक शिक्षा, युवामा उद्यमशीलता लगायतका मुख्य एजेण्डा रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हुम्ला जलवायु परिवर्तनको दृष्टिकोणले ठुलो जोखिममा परेको जिल्ला हो । जलवायु परिवर्तनको न्याय, बाढी, पहिरो, हिमतालबाट क्षति धेरै भएका छन् । त्यसका लागि नीतिगत रुपमा पनि विशेष ध्यान जानुपर्ने वातावरण बनाउनुपर्ने छ ।”

उहाँले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को शिक्षा पनि अबको दिनमा विकास गर्दै लानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हरेक पालिकामा अपडेटेड करिकुलम । समयले मागेको इन्फरमेसनदेखि मोर्डन एजुकेसन, रोजगार, उद्यमशीलता, एआई एजुकेसन । हेल्थ र एजुकेसन एकदम ठुलो प्राथमिकतामा हो ।” जेनजी आन्दोलनपछि हुन लागेको चुनाव विगतको भन्दा फरक देखिनुपर्ने उहाँको भनाइ छ । 

उहाँले मतदाताले उम्मेदवार र उम्मेदवारको घोषणापत्र अध्ययन गरेर मत दिनुहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो क्याम्पियनमा भ्रष्टाचार गरेर, मासुभात खुवाएर भोट दिनेवाला छैन । हामी एउटा कल्चर प्रोमोट गर्दैछौं । निर्वाचन भन्दैमा मासुभात खुवाउने कुरा हटाउँदै, ईस्यु बेस भोट हाल्नुपर्छ ।”  

सुशासन मुख्य एजेण्डा

तेह्रथुमको क्षेत्र नं. १ की उषालक्ष्मी तुम्वाहाङ्फे देशमा इमानदार राजनीति र सुशासन कायम गर्नुपर्छ भन्ने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो देशमा इमानदार राजनीति र सुशासन कायम गर्नुपर्छ भनेर पनि मेरो उम्मेदवारी हो । जेनजी आन्दोलनमा जति जनाले ज्यान दिनुभयो, उनीहरुको बलिदान खेर जान दिनुहुँदैन, त्यो आवाज उठाइ रहनुपर्छ भनेर हो ।”

उहाँ अहिले जनताको घरदैलोमा गएर समस्या बुझ्ने र टिपोट गर्ने कार्य भइरहेको बताउनुहुन्छ । सोअनुसार थप प्रभावकारी चुनावी एजेण्डा अगाडि बढाउने उहाँको योजना छ । 

उहाँ भन्नुहुन्छ, “हाम्रो एजेण्डा प्रत्यक्ष राष्ट्रपति प्रणालीदेखि शुन्य भ्रष्टाचार हुनुपर्छ भन्ने नै छ । आफ्नो ठाउँको, आफ्नो गाउँको एजेण्डा त्यही अनुसारको बनाउनुपर्ने हुन्छ । अहिले एजेण्डा बनाउने कामहरु भइरहेको छ ।” उहाँले आगामी दिनमा जनतासँग बसेर आफ्नै गाउँ, ठाउँमा काम गरेर अगाडि बढ्ने योजनाका साथ आफू अघि बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरो विशेष फोकस चाहिँ केमा रहेको छ भने भोलि गएर मैले उम्मेदवारी दिँदै गर्दा मैले चुनाव जिते भने पनि आफ्नो गाउँ–ठाउँमा रहेर यहीको जनतासँग समस्या के छ भनेर उहाँहरुसँगै बुझेर अगाडि बढ्ने योजना छ ।” निर्वाचन आयोगका अनुसार २५ देखि ४० उमेर समूहका एक हजार ५६, ४१ देखि ६० उमेर समूहका एक हजार ९२५ र ६१ भन्दा माथिका ४२५ उम्मेदवार रहेका छन् । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।